काठमाडौं । कोशी प्रदेश सरकारमा बजेट शून्यता आएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश हिजो राति १२ बजेबाट स्वतः निष्क्रिय भएपछि प्रदेशमा बजेट शून्यता आएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धप थापाले भदौ ४ गते दोस्रो पटक विश्वासको मत लिने क्रममा प्रदेशसभा बैठकको अध्यक्षता गरेका सत्तापक्ष सांसद इस्राइल मन्सुरीले पनि मतदान गरेको भन्दै तत्कालीन मुख्यमन्त्री कार्कीले सर्वाेच्चमा रिट निवेदन दिएका थिए ।
सर्वाेच्चले भदौ ७ गते दीर्घकालिन असर पर्ने कुनैपनि निर्णय नगर्न प्रदेश सरकारको नाममा अन्तरिम आदेश जारी गरेपछि बजेटसम्बन्धी अध्यादेश ल्याउन संवैधानिक अड्चन आएको हो ।
मुख्यमन्त्री थापाले बजेटसम्बन्धी अध्यादेश ल्याउन भदौ ६ गते राती १२ बजेबाट चालु हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस गरेका थिए । बजेट शून्यताका कारण प्रदेशभरिका मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेसन, यातायात व्यवस्था कार्यालयमा सवारीसाधन दर्ता, नवीकरण, साना उद्योग दर्ता, मनोरञ्जन, विज्ञापन र दहत्तरबहत्तर कर उठाउन समस्या हुने भएको छ ।