Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एयरको अग्रिम बुकिङ धमाधम, ६ हजार रुपैयाँसम्म बढ्यो हवाइ भाडा


एयरको अग्रिम बुकिङ धमाधम, ६ हजार रुपैयाँसम्म बढ्यो हवाइ भाडा

काठमाडौं । नेपालीहरुको महान् चाड दशैं–तिहारको मुखैमा हवाइभाडा बढेपछि एयर टिकटको अग्रिम बुकिङ धमाधम हुन थालेको छ । बुध्द एयरका अनुसार दसैंको घटस्थापनासम्मका लागि काठमाडौँदेखि धनगढीसम्म दसैंका लागि अधिकतम भाडादर १७ हजार एक सय ८६ रुपैयाँ तोकेको छ । उक्त गन्तव्यमा अहिले सहुलियत भाडादर भने ११ हजार रुपैयाँ छ ।

त्यस्तै सुर्खेतको महङ्गो १४ हजार एक सय ६८, नेपालगञ्जको महङ्गो भाडादर १३ हजार तीन सय ९४ रुपैयाँ रहेको छ । काठमाडौँदेखि भ्रद्रपुरको भाडादर अधिकतम १२ हजार तीन सय ८३ रुपैयाँ तोकिएको छ । उक्त गन्तव्यको सहुलियत भाडादर आठ हजार रुपैयाँ एक छ ।

दसैं, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन् । दसैंमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परा छ । वर्षदिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशबाट सहर, सदरमुकामदेखि गाउँबेँसी पुग्नेको लर्को लाग्छ । उनीहरु आफन्त र मान्यजनबाट टीका तथा आशीर्वाद थाप्न लामो यात्रा तय गरेर गन्तव्यमा पुग्छन् ।

वायु सेवा सञ्चालक सङ्घका प्रवक्ताका अनुसार दसैंका लागि अधिकांश टिकट बुकिङ भइसकेको छ । यात्रुको मागका आधारमा उडान सङ्ख्या थप्ने योजनामा रहेको र दसैं लक्षित अनलाइन बुकिङ सकिए पनि जहाज पर्याप्त रहेकाले थप उडान सञ्चालन गरिने जानकारी दिए ।

आन्तरिक उडानका बुध्द एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरको अग्रिम बुकिङ धमाधम भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अहिले आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० र अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक उडानतर्फ अहिले दैनिक तीन सय हाराहारी दुईतर्फी उडानमार्फत झन्डै १५ हजार यात्रु आवतजावत गरिरहेका छन् । महाप्रबन्धक तिवारीले दसैंमा यो सङ्ख्या थप बढ्नसक्ने भएकाले उडान सङ्ख्या पनि बढ्ने बताए ।

तुलनात्मक रुपमा हवाई यात्रा महङ्गो भए पनि सहज, सुलभ र छिटोछरितो यातायात भएकाले हवाई यात्राप्रति यात्रुको आकर्षण बढ्दो छ । त्यसैले केही महँगो भए पनि हवाई यात्राका लागि अधिकांश यात्रु लालायित हुन्छन् ।

दसैंमा राजधानी काठमाडौँ छाडेर गाउँघर पुग्ने यात्रुको चहलपहल बढी हुन्छ । टीकाको भोलिपल्टदेखि राजधानी फर्किने यात्रुको चाप बढ्छ । वायुसेवा कम्पनीका अनुसार अहिले दसैंको अन्तिम दिनलाई लक्षित गरी उच्च दरमा टिकट लिने क्रम बढेको छ ।

विशेषगरी फूलपातीदेखि विजयादशमी टीकासम्म चाप बढी हुन्छ । अग्रिम बुकिङ सोही अनुरुप हुने गरेको एयरलाइन्स कम्पनीले जनाएका छन् । नेपाली पात्रोअनुसार यस वर्ष यही असोज २८ गते घटस्थापना र आगामी कात्तिक ७ गते विजयादशमी टीका रहेको छ ।