काठमाडौं । धरहराकोसँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ ।
काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भने, ‘‘यस अघि काठमाडौं टावर साबिक पुरानो बसपार्कमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइसकिएको छ । सरोकारवालासँगको समन्वयमा आइतबार देखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौँ ।’’
पाण्डेकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । सहिद गेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौं मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ ।
गएको दशैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लवहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो । संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।