काठमाडौं । झन्डै ५ महिनासम्म विभिन्न मागसहित हलिउडका लेखक संगठनहरूले गरेको हड्ताल सकिनेबित्तिकै नेटफ्लिक्स आफ्नो सब्स्क्रिप्सन शुल्क पुनस् बढाउने तयारीमा लागेको छ । वालस्ट्रीट जर्नलमा प्रकासित समाचारअनुसार विश्वभर झन्डै २४० मिलियन सशुल्क सब्स्क्राइबर रहेको यो स्ट्रिमिङ सर्भिसले आगामी केही सातामै अमेरिका, क्यानडा लगायत विश्व बजारमा आफ्नो बढाइएको शुल्क क्रमशःलागू गर्नेछ । नेटफ्लिक्सले यसअघि गएको वर्ष मात्रै शुल्क बृद्धि गरेको थियो ।
कम्पनीले कोभिड(१९ महामारीसँगै बढेका दर्शक घट्न शुरू भएपछि आफ्ना एड-फ्री स्ट्यान्डर्ड, प्रिमियम र एड-सपोर्टेड सबैथरीका प्लानहरूको शुल्क पुनरावलोकन गरेको थियो । यस्तै केही महिनाअघि नेटफ्लिक्सले आफ्ना अनुमानित १०० मिलियन ग्राहकहरूले प्रयोग गर्दै आएको पासवर्ड शेयरिङमा पनि कडाइ गर्दै आफ्नो आम्दानी बृद्धि गर्ने पहल शुरू गरेको थियो । कम्पनीले वर्ष २०२३ का पहिलो दुई त्रैमासिकमा झन्डै १७ अर्ब डलर आम्दानी गरेको छ जुन २०२२ को यही अवधिको तुलनामा लगभग ४ प्रतिशत बढी हो । कम्पनीको आम्दानीमा वर्ष २०२० मा २४ प्रतिशत र २०२१ मा १८ प्रतिशतले बृद्धि भएको थियो । त्यो बेला आक्रामक बजार बिस्तार गरेको नेटफ्लिक्स कोभिडपछिको जनजीवन सामान्य भएपछि घटेका ग्राहक र आम्दानी बढाउन प्रयत्नरत छ ।
गएको साता राइटर्स गिल्ड अफ अमेरिका लगायत संस्थाहरूसँग भएको सहमतिअनुसार अब नेटफ्लिक्स, डिज्नी प्लस, हुलु लगायत स्ट्रिमिङ कम्पनीहरूले कुनै कन्टेन्टहरूले कस्तो स्ट्रिमिङ गरे भन्ने तथ्यांक पारदर्शी गर्नुपर्नेछ । सँगै लेखकहरूले पाउने रकममा ठूला बजेटका सिनेमाको १८ प्रतिशत र अन्यको २६ प्रतिशत बृद्धि पनि भएको छ । लेखकहरूले यो सहमतिले नेटफ्लिक्सको कुल आम्दानीमा एक प्रतिशतभन्दा कमको मात्रै असर गर्ने भए पनि कम्पनी फेरि शुल्क बढाउने तयारी गरेको हो ।
लेखकहरूसँग सहमति भइसक्दा समेत हलिउडका कलाकारहरू भने अझै हड्तालमै छन् । कलाकार र लेखकहरूको हड्तालले गर्दा नेटफ्लिक्ससँगै वार्नर ब्रोज, डिज्नीप्लस लगायतका ठूला सिनेमा निर्माता कम्पनीका लाखौं डलरका प्रोजेक्टहरू रोकिएका छन् । अहिले लेखकको हड्ताल सकिए पनि कलाकारहरू काममा नफर्केकाले ती प्रोजेक्टमा अझै ढिलाइ हुनेछ । अनुमानहरूका अनुसार नेटफ्लिक्सका स्क्वीड गेम, स्ट्रेन्जर थिङ्स, क्राउन, ब्रिजरटन लगायत सिरिजका पछिल्ला कार्यक्रममा उत्पादन रोकिएका छन् भने डिज्नीका अवतार, इन्डियाना जोन्ससँगै वार्नर ब्रोजका ब्याटम्यान, अक्वाम्यान समेतका सयौं प्रोजेक्टहरू रोकिएका छन् । जानकारहरूका अनुसार नेटफ्लिक्सले कलाकारहरूको हड्ताल सकिनेबित्तिकै आफ्नो शुल्क बढेको घोषणा सार्वजनिक गर्नेछ । यस्तै डिज्नीप्लसले पनि शुल्क बढाउनसक्ने अनुमान समाचारहरूले गरेका छन् ।