काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य युआन च्या च्युन र सभामुख देवराज घिमिरेबीच भेटवार्ताको क्रममा नेपाललाई १४ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
सोमबार काठमाडौंमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आर्थिक,व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदान–प्रदान लगायतका विषयमा छलफल भएको छ । भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्त्व दिँदै उपल्लो स्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरेका थिए । ‘सन् २०१९ मा राष्ट्रपति सि चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ,’ उनले भने, ‘द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।’
सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने उल्लेख गरे । उनले संविधान निर्माणसँगै नेपालले स्थायित्व र विकासमा प्रगति हासिल गरिरहेको बताउँदै तत्कालिन केपी शर्मा ओली सरकारले गरेको पारवहन सन्धि र रसुवागढी–केरुङ रेल मार्गको विकासका लागि जोड दिए ।
युआनले आफू चिनियाँ राष्ट्रपति चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको बताउँदै नेपाललाई अन्नमा आत्मनिर्भर बनाउन चीनले सहयोग गर्ने बताए । उनले आफ्नो नेपाल भ्रमणमा ८० लाख युआन अर्थात् नेपाली १४ करोड रुपैयाँ सहयोगको घोषणा गर्दै सभामुख घिमिरेलाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।