Wednesday, December 04, 2024

२०८१ मंसिर १९, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पशुधन र माछाको बीमाका लागि प्राधिकरणले जारी गर्यो पोलेसी


पशुधन र माछाको बीमाका लागि प्राधिकरणले जारी गर्यो पोलेसी

२७ असार, काठमाडौं । अब पशुधन तथा माछाको पनि बीमा हुने भएको छ । नेपाल बीमा प्राधिकरणले पशुधन तथा माछाको बीमालेख जारी गरेको छ ।
प्राधिकरणले पशुधन तथा माछा बीमालेख संशोधन स्वीकृत गरेको हो ।

संशोधित बीमालेख अब आगामी नयाँ आर्थिक वर्ष २०८०/८१ को साउन १ गतेदेखि लागू हुनेछ । प्राधिकरणको गत जेठ ३० गते सो बीमालेख संशोधन स्वीकृत गर्ने निर्णय गरेको थियो । यी दुई बीमालेख साउन १ गतेदेखि प्रचलन ल्याउन निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिइएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । पशुधनमा हुने क्षति विरुद्ध बीमा गर्नको लागि पशुधन बीमालेख जारी गरिएको निर्देशक पौडेलको भनाई छ ।

पशुधन बीमाले ७ प्रकारका घटनामा हुने क्षति तथा नोक्सानीको रक्षावरण गर्नेछ । प्राधिकरणका अनुसार पशुधन बीमालेख अनुसार पशुधनमा अग्निजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य, भुमीजन्य, चट्याङ्जन्य, रोगजन्य र आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणहरुबाट हुने क्षतिको सुरक्षा प्रदान गर्नेछ ।

यस्तै, माछा पालनमा हुने क्षति विरुद्ध बीमा गर्नको लागि माछा बीमालेख जारी भएको छ । सो बीमालेख अनुसार बीमा अवधि भित्रै माछा पालनमा अग्निजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, भुमीजन्य क्षति, चट्याङ्जन्य क्षति, रोगजन्य क्षति र आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणहरुबाट हुने क्षतिको सुरक्षा प्रदान गर्ने प्राधिकरणले जनाएको छ।

पशुधन तथा माछा बीमालेखमा अतिरिक्त सुविधा अन्तर्गत २ लाख सम्मको दुर्घटना बीमा रहेको प्राधिकरणले जनाएको छ । जुन, बीमा अवधित्र आत्महत्या बाहेकको सुविधा हो । आत्महत्या बाहेक अन्य कुनै पनि दुर्घटनाको कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी हड्डी काम नलाग्ने भएमा बीमितले सो सुविधा पाउनेछन् । यसका साथै कुनै हात खुट्टा काम नलाग्ने भएमा र दुईवटै आँखाको दृष्टि गुमेमा मात्रै बीमितले यो सुविधा पाउने प्राधिकरणले जनाएको छ ।

पशुधनको बीमा गर्दा ५ प्रतिशतका दरले बीमा शुल्क लाग्ने छ । पशुधनको बीमा गर्दा बीमांक रकमको ५ प्रतिशत प्रिमियम लाग्ने उल्लेख छ । दुर्घटना बीमाबापत बीमा शुल्क प्रतिबीमित ५०० रुपैयाँ लाग्ने छ । पशुधन बीमा सामूहिक रुपमा गर्न सकिने छ । बीमितले बीमाशुल्क भुक्तानी गरेको रकम बैंक खातामा जम्मा भएको प्रमाण बीमकले प्राप्त नगरेसम्म बीमालेख जारी गर्न नपाइने व्यवस्था रहेको छ ।

यस्तै, माछाको बीमा न्युनतम तीन महिनादेखि अधिकतम एक वर्षसम्मका गर्न सकिनेछ । सो बीमालेख बमोजिम गरि माछाको बीमा शुल्क ३ प्रतिशतका दरले लाग्नेछ । प्रजनन् प्रयोजनका लागि पालिएको माछाको बीमा गर्दा भने वजन १२ केजी बढी हुनु हुँदैन । यस्तै, सो बीमालेखमा उल्लेख भएको दुर्घटनामा बीमा बापत बीमा शुल्क प्रति बीमित ५०० रुपैयाँ लाग्नेछ ।
माछा बीमा सामूहिक रुपमा गर्न सकिने छ । बीमितले बीमाशुल्क भुक्तानी गरेको रकम बैंक खातामा जम्मा भएको प्रमाण बीमकले प्राप्त नगरेसम्म बीमालेख जारी गर्न नपाइने व्यवस्था रहेको छ ।