काठमाडौं । काठमाडौं महानगरपालिकाले नियमित औषधि सेवन गरिरहेका ज्येष्ठ नागरिकहरूको तथ्यांक संकलन गर्न सुरु गरेको छ । महानगर अन्तर्गत स्वास्थ्य विभागले ७० वर्ष उमेर पूरा भएका दीर्घ रोगबाट ग्रसित ज्येष्ठ नागरिकहरूको तथ्यांक संकलन सुरु गरेको हो । विभागका अनुसार जेष्ठ नागरिकहरूलाई औषधिको उपलब्धता सरल, सहज र पहुँच योग्य बनाउने उद्देश्यसहित २२ पुसदेखि परिपत्र गरेर तथ्यांक संकलन गरिरहेको हो ।
विभागले महानगरपालिकाकै पञ्जीकरण शाखाबाट १ साउन २०८१ साउनसम्म अद्यावधिक गरेका ७० वर्ष उमेर पूरा भएका २३ हजार ७७० जना ज्येष्ठ नागरिकको विवरण प्राप्त गरेको छ । महानगरका मेडिकल अधिकृत डा.दिवश न्यौपानेका अनुसार हरेक ज्येष्ठ नागरिकको मोबाइलमा सन्देश पठाएर सहयोगीमार्फत गुगल फर्ममा विवरण मागिएको छ । अहिलेसम्म १ हजार ४९६ जनाको विवरण प्राप्त भइसकेको छ । विवरण प्राप्तमध्ये धेरैले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन् ।
७० कटेका २३ हजार बढी, एक सय वर्ष कटेका ४७ जना
अहिले विभागलाई प्राप्त भएको विवरणमा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको संख्या ३७ हजार ६५४ जना छन् । ७० वर्ष उमेर पूरा भएकाको संख्या २३ हजार ७७० जना छ । धेरै उमेर हुनेमा ११० वर्ष उमेरको व्यक्ति रहेका छन् भने १ सय वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको संख्या ४७ जना रहेको छ । ९० वर्षदेखि ९९ वर्षसम्मका ८६४ जना, ८० वर्षदेखि ८९ वर्षसम्मका ५ हजार ४८३ जना र ७० वर्षदेखि ७९ वर्षसम्मका १७ हजार ३७४ जना ज्येष्ठ नागरिक रहेका छन् ।