काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा काठमाडौंका विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । ‘काठमाडौंको बसन्तपुर केन्द्रित, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वको राष्ट्रिय पर्वका क्रियाकलाप सुरू भइसकेका छन्, यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलापहरू हिँडेर सञ्चालन गरिन्छन् । यसर्थ निम्न क्रियाकलाप हुने दिनमा तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन, त्यस मार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुहरूले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पु¥याउनुहुन अनुरोध गर्दछौं,’ महानगरले सूचना जारी गर्दै भनेको छ ।
बिहीबार (असोज ११ गते बसन्तपुर, मरू, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा हुनेहुँदा ती क्षेत्रमा सवारी आवागमन प्रभावित हुने बताइएको छ । शुक्रबार (असोज १२ गते) बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुरसम्म रथयात्रा हुने छ । बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुरसम्म असोज १५ गते रथयात्रा हुनेछ। यस दिन महिलाहरूले रथ तान्ने महानगरपालिकाले बताएको छ ।