काठमाडौं । पछिल्लो समय आर्थिक तरलता बढ्दा काठमाडौं उपत्यकामा बैंकिङ कसुर बढेको छ । गत वर्षको तुलनामा यो वर्षको तीन महिनामा धेरै घटनाहरु घटेका छन् । यो वर्ष साउनमा १ हजार २ सय ७५ आपराधिक घटनाहरु हुदाँ ५ सय ६० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गर्दै गत वर्षको साउनमा १ हजार ४७ अपराधका घटना भएकोमा बैंकिङ कसुरका घटनाहरु पनि धेरै भएको जानकारी दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी कुमोध ढुंगेलले बैंकिङका घटनाहरु बढ्दो क्रममा रहेको बताए ।
त्यस्तै, साउन महिनामा अनलाईन ठगीसम्बन्धी ६५ निवेदन दर्ता भएकामा दुई वटा मिलापत्र भई बाँकी ६३ निवेदनमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
साउन महिनामा नै विभिन्न मुद्दामा २ सय ४० जनालाई पक्राउ गरिएको र कुल १८ करोड ८० लाख जरिवानाको फैसला भएको छ । यस अवधिमा परिसरमा २ हजार ६५१ जनाले सेवा लिन आएको, कालिमाटी एरियामा १८ वटा सिसिटिभी क्यामेरा जडान गरेको, प्रहरी वृत्त बालाजु, बौद्ध, लैनचौर, सिंहदरबार, कालिमाटीको हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।