काठमाडौं, श्रावण २१ । एक वर्षको अवधिमा कामदार भिसामा साढे ३ हजार बढी विदेशी नागरिक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९,८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा कामको खोजीमा औपचारिक माध्यमबाट नेपाल आएका हुन् । विभागका अनुसार यो सूचीमा नेपालको छिमेकी मुलुक भारतबाट आएर काम गर्ने वा व्यापार–व्यवसाय गर्नेको तथ्यांक छैन ।
नेपालमा अघिल्लो आवको तुलनामा गत आवमा विदेशी कामदारको आगमन समेत बढेको पाइएको छ । आव २०७८,७९ मा २ हजार ८९२ जना कामदार भिसामा नेपाल आएको आंकडा रहेको छ । त्यसअगाडीको आव २०७७,७८ मा ३ हजार ३३१ जना विदेशी नेपालमा कामदार भिसामा आएका थिए । गत आर्थिक वर्ष २०७९,८० मा कीर्तिमानी संख्यामा नेपाली श्रमिक कामको खोजीमा विदेशिएका थिए ।
यस आवमा १ वर्षमा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगारीका लागि पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको एकीकृत आंकडा हो । आर्थिक वर्ष २०७१,७२ मा ६ लाख ९३ हजार ३२ जना नेपाली वैदेशिक रोजगारीमा पुगेका थिए ।