Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सीमावर्ती भन्सारमा कडाई, सय रुपैयाँ सम्मको सामानमा पनि भन्सार कर


सीमावर्ती भन्सारमा कडाई, सय रुपैयाँ सम्मको सामानमा पनि भन्सार कर

काठमाडौं,१ साउन । नयाँ आर्थिक वर्ष सुरुभएसंगै सीमावर्ती भन्सारमा एक सय रुपैयाँ माथिका सामानमा भन्सार लाग्ने भएको छ । उपभोक्ताले भारतीय बजार प्रयोग गर्न थालेपछि सरकारले भन्सारमा कडाइ गरेको हो । मुख्यगरि देशका प्रमुख भन्सार कार्यालयहरुले आज बिहानबाटै भन्सार दस्तुर उठाउन थालेका छन् । यसले देशको आर्थिक क्षेत्रमा ठुलो प्रभाव पार्ने देखिएको छ । तर, यसको कार्यान्वयनमा भने अझै आशंका रहेको कतिको भनाई छ ।

आजबाट जोगवनी बजारबाट उपभोग्य वस्तुका नाममा सर्वसाधारण र व्यापारीले भन्सार नतिरी दिनहुँ करोडौं मूल्यका सामान ल्याउँदा विराटनगर बजार सुनसान भएर व्यापारी पलायन हुन थालेको भन्दै विराटनगर महानगरपालिकाको पहलमा स्थानीय प्रशासनले साउन १ गतेदेखि नाकामा कडाइ गर्ने तयारी गरेको छ । महानगरको आग्रहमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, आन्तरिक राजश्व कार्यालय, व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, विराट व्यापार संघ, उद्योग परिसंघ र विराटनगर भन्सार कार्यालयलले सामूहिक ऐक्यबद्धता जनाएका छन् ।

सामूहिक ऐक्यबद्धता अनुसार साउन १ गतेदेखि जोगवनी नाकाबाट कुनैपनि उपभोक्ताले एक रुपैयाँको सामान पनि भन्सार नतिरी ल्याउन नपाउने मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । स्थानीय बजारको प्रवर्द्धन गर्न, उपभोक्तालाई आफ्नै बजारमा सामान खरिद गर्ने बानी बसाल्न र राजश्व वृद्धिका लागि महानगरको आग्रहमा सबै सरोकारवाला निकायको संयूक्त प्रयासमा जोगवनी नाकामा कडाई गरेर तस्करी नियन्त्रणको रणनीति तय गरिएको यादवले बताए ।

यसअघि राजश्व चुहावट नियन्त्रण गर्ने नाममा स्थानीय प्रशासन र भन्सारले सय रुपैयाँसम्मको सामान भन्सार नतिरी ल्याउन पाउने नियम बनाएका थिए । तर सरोकारवाला निकायको बेवास्ताले सामान्य उपभोक्ताको नाममा एक पटकमा १० हजार भन्दा बढीका सामान र तस्करले ट्रकमै व्यापारिक सामान भित्र्याएर राजश्व ठगी गर्दै आएको महानगरको दावी छ ।

सीमामा खटिएका सुरक्षा निकायले वास्ता नगर्दा तस्करले छिराएको तीन ठेला सामान प्रहरी चौकीअगाडि भन्सारका कर्मचमारीले नियन्त्रण लिने प्रयास गर्दा गत माघ अन्तिममा सीमा प्रहरी चौकीअगाडि तस्कर र भन्सार कर्मचारीबीच झडप भएको थियो । झडपमा सुरक्षा निकायले साथ नदिएको भनी भन्सार कर्मचारीले आक्रोश पोख्दै विरोध जनाएपछि स्थानीय सुरक्षा निकायले उक्त घटना गुपचुप राख्दै सीमामा केही दिन कडाई गर्दै सशस्त्र प्रहरीको एक टुकडीलाई चोरी पैठारी नियन्त्रण गर्न परिचालन गरेको थियो ।