काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले संसद्का दुई ठुला दल मिलेर बनेको करिब दुई तिहाइ सरकारले एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य सुधार गर्न नसकेको बताएका छन् । कृषि विकास बैंक कर्मचारी सङ्गठनद्वारा मंगलबार आयोजित कार्यक्रममा पुनले सरकारले अर्थतन्त्र सुधारका लागि काम नगरेका कारण अर्थतन्त्र चलायमान हुन नसकेको बताए ।
आर्थिक वर्ष ०८२-०८३ को बजेटमार्फत अर्थतन्त्रका चुनौती सामना गर्ने गरी नीति कार्यक्रम नल्याइएको उनको भनाइ थियो ।बजेट नियमित र परम्परागत ढर्राबाट ल्याइएकाले सरकारले जतिसुकै दाबी गरे पनि अर्थतन्त्रका सबै सूचकमा उल्लेख्य सुधार हुने सङ्केत नदेखिएको बताए । तर, नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिले भने केही आशा जगाएको पुनले उल्लेख गरे ।
पुनले बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा देखिएको समस्या हटाउन सरकार असफल भएको बताए । हरेक महिनाजसो केन्द्रीय बैंकले ५० देखि ६० अर्ब रुपैयाँ बैंकहरुबाट खिच्ने गरेको र लगानी योग्य रकमको मौज्दात ७ खर्ब पुग्नुले बजारको मनोबल उठ्न नसकेको पुनले बताए ।