काठमाडौँ । साउदी अरबमा कार्यस्थलमै ज्यान गुमाएका नेपाली कामदारका परिवारले बल्ल क्षतिपूर्ति पाउन थालेका छन् । साउदीको रियादस्थित नेपाली दूतावास र साउदीको सामाजिक सुरक्षा बिमा (गोसी) बीच समन्वय र सहजीकरण भएपछि क्षतिपूर्ति वितरण हुन थालेको हो । गोसीसमक्ष मृतक श्रमिकका तर्फबाट पूरै कागजात पेस नगरिँदा २००२ देखि परिवारले क्षतिपूर्ति पाएका थिएनन् ।
रियादस्थित नेपाली दूतावासका अनुसार साउदीमा मृत्यु भएका मध्ये पछिल्लो एक वर्षमा गोसीबाट १ सय ९ कामदारका हकवालाले करिब २७ करोड रुपैयाँ क्षतिपूर्ति पाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार साउदीमा आर्थिक वर्ष २०६५/६६ यता ३ हजार ७ सय ९३ नेपाली कामदारको मृत्यु भइसकेको छ । तीमध्ये कार्यस्थलमा दुर्घटना भई मृत्यु भएका मध्ये करिब ७ सय जनाका हकवालाले गोसीमार्फत क्षतिपूर्ति पाउन बाँकी थियो । दूतावासले करिब ६ सय कामदारको परिवारलाई क्षतिपूर्ति दिलाउने प्रक्रिया चलिरहेको जनाएको छ ।
साउदी सरकारले कामसँग सम्बन्धित दुर्घटनामा परी घाइते, अंगभंग भएका वा मृतक श्रमिकका परिवारलाई गोसी र ब्लडमनी रकम गरी दुईवटा क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । तर झन्झटिलो र लामो प्रक्रियाका कारण मृत्यु भएका कामदारका परिवारले क्षतिपूर्तिका लागि वर्षौं सघंर्ष गर्नुपर्छ । गोसीबापत पाउने रकम पाउन हकवालाका तर्फबाट कागजात पेस गरेपछि पाइने व्यवस्था छ । ब्लडमनीका लागि भने दूतावासले वकिलमार्फत अदालतमा मुद्दा लड्नुपर्छ ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई वैदेशिक रोजगार बोर्डले कल्याणकारी कोषबाट पनि क्षतिपूर्ति दिँदै आएको छ । साउदीमा कार्यस्थल दुर्घटनामा परेका श्रमिकबाहेकका परिवारलाई क्षतिपूर्ति दिने कानुनी व्यवस्था छैन । साउदीमा मृत्यु भएका नेपाली कामदारमध्ये करिब २० प्रतिशत मात्र गोसीको क्षतिपूर्तिका लागि समेटिने गरेका छन् । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले भने रोजगारी क्रममा जुनसुकै कारणले मृत्यु भए पनि क्षतिपूर्ति दिनुपर्ने बताउँदै आएका छन् । श्रमिकहरूको २४ घण्टा नै बिमा हुनुपर्ने उनीहरूको जोड छ ।