काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ आज बाँडफाँट भएको छ । कुमारी क्यापिटलले नागपोखरीस्थित कार्यालयमा एक कार्यक्रम आयोजना गरी एफपीओ बाँडफाँट गरेको हो । एफपीओमा रितपूर्वक आवेदन दिएका १५ लाख ६३ हजार ३२२ आवेदकमध्ये ४ हजार ६७२ जनाले सेयर पाएका छन् ।
तीमध्ये ९ जनाले थप १ कित्ताका दरले कुल ११ कित्ता पाएका छन् भने बाँकीले १० कित्ताका दरले पाएका हुन् । बाँकी १५ लाख ५८ हजार ६५० को हात रित्तो भएको छ । १ हजार १०१ आवेदन रद्द भएका थिए । एफपीओको नतिजा केही बेरपछि आईपीओरिजल्ट डट सीडीएससीमा हेर्न सकिनेछ । सर्वसाधारणका लागि कम्पनीले साउन ४ देखि एफपीओ जारी गरेको थियो । सूर्योदय र वोमी लघुवित्त एकआपसमा गाभिएर बनेको यस संस्थाको सर्वसाधारण समूहतर्फ ३० प्रतिशत सेयर नपुगेपछि एफपीओ जारी भएको हो ।