Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हेटौँडा भीमफेदी, कुलेखानी, महालक्ष्मी दोभान सडक सम्झौता अनुसार भएन काम, तीन पटक म्याद थप


हेटौँडा भीमफेदी, कुलेखानी, महालक्ष्मी दोभान सडक सम्झौता अनुसार भएन काम, तीन पटक म्याद थप

काठमाडौं । हेटौँडाबाट भीमफेदी, कुलेखानी, महालक्ष्मी दोभान हुँदै काठमाडौँको सतुङ्गल जोड्ने सडकको काम निर्माण कम्पनीका कारण गति लिन सकेको छैन । बागमती प्रदेश सरकारबाट दुई खण्डमा विभाजन गरी काम हुँदै आएको उक्त सडकको महालक्ष्मी दोभान–मकैबारी खण्ड प्रदेशको पूर्वाधार विकास कार्यालय चितवनमार्फत र मकैबारीदेखि मातातीर्थ–सतुङ्गल खण्ड पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत बोलपत्र आह्वान गरी काम भइरहेको छ।

दुवै खण्डको काममा ढिलाइ भएसँगै लापरबाही भएको भन्दै स्थानीय जनप्रतिनिधि र महालक्ष्मी दोभान–घट्टेखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक सरोकार समितिले असन्तुष्टि जनाउँदै आएका छन्। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङले दुवै खण्डका सडकको अवस्था र निर्माणमा गर्नुपर्ने सुधारबारे गत असारमा बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको बताए ।

दुवै सडकखण्ड निर्माण कम्पनीसँग सम्झौता भएको मितिले १८ महिनामा सम्पन्न गर्नुपर्ने थियो। महालक्ष्मी दोभान–चखेल–मकैबारी खण्ड आर्थिक वर्ष २०७७,७८ मा र मकैबारीदेखि मातातीर्थ–सतुङ्गल खण्ड २०७५,७६ मा ठेक्का सम्झौता भएको हो। महालक्ष्मी दोभान–मकैबारी खण्ड एक पटक र मकैबारीदेखि मातातीर्थ–सतुङ्गल खण्डको तीन पटक म्याद थप भए पनि निर्माणको काम पूरा भएको छैन।

मकवानपुरतर्फको तुलनामा काठमाडौँतर्फको काम ढिलो भएको छ। काठमाडौँतर्फको काम तेस्रो पटक म्याद थपिँदासमेत पूरा नभएपछि पुनः म्याद थपको दौडधुपमा निर्माण कम्पनी लागेको छ। आव २०७५र०७६ मा मकैबारीदेखि मातातीर्थ सतुङ्गल खण्डको ठेक्का सम्झौता भई हालसम्म तीन पटक म्याद थप गरेको समय सकिँदासमेत निर्माण कार्य पूरा भएको छैन। कालोपत्रेसहित साढे आठ किमी सडक स्तरोन्नति गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनीले पछिल्लो पटक गत जेठसम्मका लागि थपिएको समयमा पनि पूरा नभएपछि पुनः म्याद थपको प्रयासमा लागेको छ।