Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्विट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी


स्विट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई  सम्झौता गर्ने तयारी

काठमाडौं,नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्विट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ। विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले स्विट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको मन्त्रालयका नागरिक उड्डयन महाशाखा प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेले बताए ।

तीनवटै मुलुकसँग हवाई सम्झौताका लागि आवश्यक कागजी प्रक्रिया पूरा भइसकेकाले समय र स्थान तय गरेर सम्झौता गरिने उनको भनाइ छ।क्यानडाको मोन्ट्रियलमा भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओ को ४१औँ महासभाका अवसरमा दुई देशबीच प्रारम्भिक हवाई सम्झौताको सैद्धान्तिक सहमति भएको थियो। नेपाल र स्विट्जरल्यान्डबीच एयर कनेक्टिभिटीका लागि एमओयू भएको र अरू धेरै मुलुकसँग पनि एमओयू पाइपलाइनमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ। सहसचिव लामिछानेले कुवेत र युएईको पुरानो हवाई सम्झौता समीक्षा गर्न लागिएको पनि बताए।

नेपालले हाल ४० देश र युरोपेली संघ इयू गरी ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ। तीमध्ये २० भन्दा बढी गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ। सरकारले पछिल्लोपटक अस्ट्रेलियासँग हवाई सेवा सम्झौता गरेको थियो।सरकारले चालू आर्थिक वर्ष २०८०,८१ को नीति तथा कार्यक्रममा नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गर्ने घोषणा गरेको छ। सरकारले नयाँ मुलुकसँग हवाई सम्झौता गरी नेपाली वायुसेवा कम्पनीको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने नीति लिएको छ।नेपालले मध्यपूर्वी एसियाली मुलुक इन्डोनेसियासँग पनि छिट्टै हवाई सेवा सम्झौता गर्ने गरी तयारी गरेको छ। दुई मुलुकबीच हवाई सम्झौताको अन्तिम तयारी भइरहेको पर्यटन मन्त्रालयले बताएको छ।

इन्डोनेसिया–नेपाल दुईतर्फी उडानका लागि मन्त्रालयले आधिकारिक जिएसए तोकिसकेको छ। इन्डोनेसियाको गरुडा एयरका लागि नेपालको सोसाइटी इन्टरनेसनल आधिकारिक जिएसए रहेको छ।आगामी वर्षदेखि गरुडा एयरको जिएसए व्यवस्थापन गरिने सोसाइटी ट्राभलका सञ्चालन प्रमुख संगीता रौनियारले बताइन्। यस्तै अफ्रिकी मुलुक रुवान्डासँग पनि नेपालले हवाई सम्झौताद्वारा दुई देशबीचको सम्पर्क विस्तार गर्न लागेको मन्त्रालयले बताएको छ।

तीस एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल नेपालमा तीनवटा नेपालीसहित ३० वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर इन्डिया, इन्डिको एयर, एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स, तिब्बत एयरलाइन्स, भुटान एयरलाइन्स, विमान बंगलादेश र ड्रुक एयरले उडान गर्दै आएका छन्।

त्यस्तै, क्याथे प्यासिफिक, भिस्तारा, जजिरा एयरवेज, कोरियन एयरलाइन्स, श्रीलंकन एयरलाइन्स, टर्किस एयरलाइन्स, कतार एयरवेज, सिंगापुर एयरलाइन्स, एयर अरेबिया अबुदाबी, मलेसिया एयरलाइन्स, कुवेत एयरवेज, मालिन्दो एयर, सलाम एयर, थाई लाइन, थाई स्माइल एयरलाइन्सलगायत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल–अमेरिका उडान सेवा दिँदै आएको छ।