काठमाडौं, २५ जेठ । अर्थमन्त्री प्रकाशशरण महतले सेयर बजार सीमित व्यक्तिको कब्जामा परेकाको दावी गरेका छन् । उनले सोहि कारण आम लगानीकर्ताले नोक्सान व्यहोर्नु परेका उनको भनाई छ । नेपाल धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले करिब ५६ लाख लगानीकर्तालाई देखाएर सेयर बजारमा सीमित व्यक्तिहरूले लाभ लिइरहेको आरोप लगाएका हुन् ।
सीमित व्यक्तिलाई मात्र लाभ पुग्ने गरी बजार सञ्चालन हुन दिनु हुँदैन उनले भने, बजारमा मौलाउँदै गएको यस्तो विकृति रोक्नका लागि प्रभावकारी रूपमा नियमन र सुपरिवेक्षण गर्न नेपाल धितोपत्र बोर्डलाई अर्थमन्त्री महतले निर्देशन दिएका छन् । यस्तै, कम्पनीको महत्वपूर्ण सूचना चुहाएर गर्ने भित्रि कारोबार पनि बजारमा रहेको अर्थमन्त्री महतले बताए । ‘सेयर बजारमा भित्री कारोबार भइरहेको सुन्नमा आउँछ,’ उनले थपे, ‘भन्ने बेला ५६ लाख लगानीकर्ता भनेर भन्ने अनि लाभ लिने बेलामा सीमित व्यक्तिले लिने यो ठीक भएन ।’
आगामी आर्थिक वर्षमा घोषणा भएको सेयर कारोबारमा करको विषयमा पनि तिनै सीमित व्यक्तिले विरोध गरेको उनले बताए । व्यावसायिक रूपमा सेयर कारोबार गर्ने नागरिकहरूका लागि करका दरले कुनै फरक नपारेको पनि उनले बताए । सेयर बजारमा केही फाइदा लिन चाहनेहरूले कहाँ भन्दा के असर पर्छ भनेर प्रचार गर्दा गलत कुराको प्रचार भएको आर्थमन्त्री महतको भनाइ छ ।
बजारलाई प्रतिस्पर्धामा लैजान आवश्यक रहेको पनि उनले बताए । कमोडिटी बजारलाई सञ्चालनमा ल्याउने, बजारलाई पेपरलेस बनाउने, सीमित व्यक्तिले अनुचित लाभ लिनबाट जोगाउने, अनुचित लाभ लिनबाट जोगाउन, सेयर बजारलाई स्वस्थ बनाउन प्रभावकारी रूपमा काम गर्न उनले निर्देशन दिए ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आगामी आर्थिक वर्षभित्रमा वस्तु विनिमय बजार सञ्चालनमा आउने बताए । पुँजी बजारको विकास तथा विस्तारका लागि बोर्डले प्रभावकारी रूपमा काम गरिरहेको दाबी गर्दै उनले भने, ‘आगामी दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुग्दैछ । भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फन्डमा पनि ठुलो काम भएको छ ।’