काठमाडौं, २५ असार । बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा आरोपित विराटनगरका प्रतिष्ठित घरानाका पाँच व्यापारी सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन हुनेमा सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा, एसियन फुड्सको कारोबार हेरिरहेका राधेश्याम सारडा, श्रीनिवास सारडा र संविधानसभा सदस्यसमेत रहेका पवनकुमार सारडा रहेका छन् । उनीहरु गत असार १५ गतेपछि सम्पर्कविहीन बनेका हुन् ।
उनीहरुको नाम ललिता निवासको जग्गा घोटला गर्नेहरुमध्येको ३९७ जनाको लिष्टमा रहेको बताइएको छ । उनीहरुले कम्तिमा कति जग्गा किनेका थिए भन्ने कुरा भने यकिन भएको छैन ।
सारडा परिवारको नेपालमा १६० वर्षको इतिहास छ । श्रीनिवासको हजुरबाहरु भारतबाट नेपालको सिरहास्थित लहानमा बसेका थिए । त्यसबेला उनीहरुले जनकपुरसम्म व्यापार गरे । ४० को दशकपछि उनीहरु विराटनगर र काठमाडौं छिरेका हुन् । संविधानसभा सदस्य सारडा मोरङ व्यापार संघका पूर्व अध्यक्ष पनि हुन् । शिवरतन काठमाडौंमा बस्छन् । सारडा ग्रुपका अध्यक्ष उनी जेठो हुन् । माइला राधेश्याम, साइलो श्रीनिवास र पवन कान्छो भाई हुन् । राधेश्याम सारडालाई रमपम चाउचाउ उत्पादक कम्पनी एसियन थाइफुड्सको सबै आर्थिक कारोबार हेर्ने जिम्मा थियो ।
यो प्रकरणमा हालसम्म एक दर्जन व्यक्ति पक्राउ परिसकेका छन् । जसमा पूर्वसचिवमात्रै आधा दर्जन बढी छन् ।