काठमाडौं । अन्ततःनेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार घोषणा गरेको छ । यसअघि एमालेको कीर्तिपुर नगर समितिले डा.मानन्धरको नाम सिफारिस गरेको थियो ।
मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० को अध्यक्षसमेत हुन् । एमालेले आज मानन्धरको उम्मेदवारी घोषणा गरेको हो । घोषणासभामा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलको उपस्थिति रहेको थियो ।
कांग्रेसबाट कीर्तिपुर नगरपालिकामा निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्रा.डा.शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ । स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदै छ ।