काठमाडौँ — व्यापार घाटा न्यूनीकरण एवं निर्यात वृद्धिका लागि नेपाल चेम्बर अफ कर्मस र निर्यात परिषद्बीच सहकार्य गर्ने समझदारी भएको छ ।
परिषदका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई चेम्बर भवनमा स्वागत गर्दै चेम्बर र परिषद्ले निर्यात सहजीकरणका लागि नीतिगत सुधार एवं सम्भावनाका विभिन्न विषयमा सहकार्य गर्ने सझदारी भएको हो ।
दुई संस्थाबीच नीति निर्माणदेखि भन्सार सहजीकरण गर्ने विषयमा सहकार्य हुने चेम्बरले जनाएको छ ।निर्यातयोग्य वस्तुको पहिचान र प्रर्वद्धन हुन नसक्दा अपेक्षित लाभ लिन नसकिएको चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताए ।
निर्यात प्रर्वद्धनमा देखिएको नीतिगत कठिनाइ अन्त्य गर्न चेम्बरले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ । चालु आर्थिक वर्षको ५ महिनामा नै व्यापार घाटा ५ खर्ब ९७ अर्ब रुपैयाँ नाघिसकेको भन्दै अध्यक्ष मल्लले प्रत्येक वर्ष मुलुकको व्यापारघाटा बजेटकै हाराहारीमा हुन थालेको जनाए ।
कार्यक्रममा नेपाल निर्यात परिषदका नवनिर्वाचित अध्यक्ष नरेशलाल श्रेष्ठले भन्सार प्रक्रिया सहजीकरण नहुँदा व्यवसायीले अनावश्यक दुःख पाएको गुनासो गरे ।