Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनमा प्रधानमन्त्री दाहाल, निर्माणलाई तिव्रता दिन निर्देशन


मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनमा प्रधानमन्त्री दाहाल, निर्माणलाई तिव्रता दिन निर्देशन

काठमाडौं, २ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेका छन् । प्रधानमन्त्रीले मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायत पुगेका थिए । गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्रीले स्थलगत अवलोकन गर्दै आइरहेका छन् । उनको साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव रहेका छन् ।

आयोजनाको स्थलगत अवलोकनपछि प्रधानमन्त्रीले स्थानीय पदाधिकारीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ । वि.सं. २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो ।

काठमाडौं उपत्यकामा विद्यमान खानेपानी अभावको दिगो एवम् दीर्घकालीन रूपमा समाधान गर्ने र उपत्यकाका बासिन्दाको स्वास्थ्यस्थिति तथा जीवनस्तर सुधारमा योगदान पुर्‍याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो । सिन्धुपाल्चोकको हेलम्बु गाविसअन्तर्गत मेलम्ची खोलाको रिवर्मामा मुहान ९हेडवर्क० निर्माण गरी सुन्दरीजलसम्म २६ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ । सुरुङको माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइने गरिएको छ ।

वि.सं. २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रूपमा काठमाडौं उपत्यकामा वितरण थालिएको थियो । वि।सं। २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको थियो ।