काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाको समय लम्बिँदै जाने र आयोजनाको लागत बढ्दै जाने प्रवृत्ति रोक्न निर्देशन दिएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ आयोजना र महाकाली सिंचाइ आयोजना ९तेस्रो चरण० को अनुगमन गर्दै प्रधानमन्त्री दाहालले निर्धारित समयमै आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिए ।
हरेक आयोजनामा सुरूको लागत स्टिमेट जस्तो छ, त्यसरी नै काम सम्पन्न गर्ने सोच्नुपर्छ। समयमा काम नसक्ने, अनि पटक-पटक समय र लागत बढाउने काम गर्नु हुँदैन, प्रधानमन्त्री दाहालले भने, त्यसले हाम्रो प्रशासनिक क्षमतामै प्रश्न उठ्छ ।
प्रधानमन्त्री दाहालले आफ्नो कार्यशैली बदलेर विकास र जनसेवाका काममा केन्द्रीत हुन आयोजना प्रमुखहरूलाई निर्देशन समेत दिए । हाम्रो कार्यशैली पनि बदल्नुपर्छ। जहाँ अप्ठ्याराहरू छन्, त्यसको समाधान पनि हामीले नै खोज्ने हो, त्यसको उत्तरदायित्व नै हामीले लिनुपर्छ। अग्रसरता लिएर समस्याको गाँठो फुकाउने गर्नुपर्छ। त्यसका लागि हाम्रो कार्यशैली बदलौँ, जवाफदेहिता बढाऔँ, उनले भने ।
अनुगमनपछि मुख्यसचिव बैकुण्ठ अर्यालले आयोजनामा देखिएका नीतिगत समस्या समाधानमा सरकारले ध्यान दिने बताउँदै आयोजना निर्माणको क्रममा फिल्डमा देखिने समस्या आयोजना प्रमुखहरूले नै समाधान निकाल्नुपर्ने बताए । एक्सन रूपबाट अनुगमनका क्रममा महाकाली सिंचाइ आयोजना ९तेस्रो चरण० का आयोजना निर्देशक कुशाङ्ग शेर्पाले आयोजनाको अवस्था, प्रगति बिबरण र समस्याहरूबारे ब्रिफिङ गरेका थिए ।