काठमाडौं, ३२ जेठ । घोराही सिमेन्टको प्राथमिक सेयर (आईपीओ)मा पहिलो दिन बिहीबार साँझ ५ बजेसम्म ५१ लाख ३५ हजार १ सय कित्ताका लागि आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ हाउसका प्रवक्ता सुरेशराज न्यौपानेका अनुसार सो समयसम्म १ लाख २२ हजार ८२८ जनाले आवेदन दिएका छन् ।
यस कम्पनीको आईपीओ असार ४ गतेसम्म भर्न सकिनेछ । निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङ छन् । कम्पनीले सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६७० कित्ता सेयरका लागि आवेदन खोलेको हो । अंकित मूल्य १ सयमा ३ सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४ सय ३५ रुपैयाँका दरले सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कतिपयले कम्पनीको मूल्य महँगो भएको गुनासो गरे पनि आवेदन भने उत्साहपूर्ण देखिएको न्यौपानेले बताए ।
न्यूनतम १० कित्ता र अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । केयर रेटिङले कम्पनीको आईपीओलाई ‘बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने सुरक्षा क्षमताको मध्यम आधार रहेको जनाउँदछ । दाङको घोराही–४ मा रहेको उद्योगले क्लिंकरका साथै सिमेन्ट पनि उत्पादन गर्दछ । हाल दुई वटा ‘प्लान्ट’बाट सिमेन्ट उत्पादन भइरहेको घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडका अध्यक्ष पुरुषोत्तमलाल संघईले जानकारी दिए । घोराही सिमेन्ट कम्पनीमा अधिकतम सेयर लगानी त्रिवेणी ग्रुप र विशाल ग्रुपको छ ।