काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ ।अर्थमन्त्री डा.प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो ।
कार्यदलले काम शुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थ मन्त्री डा। महतले निर्देशन दिएका उनको सचिवालयले जनाएको छ । यो कार्यदललाई गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्य अनुसन्धान गर्ने म्यान्डेड दिइएको छ ।
यस्तै गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए ।