एजेन्सी । चीनले आफूविरुद्ध गतिविधि गर्ने संस्था तथा व्यक्तिलाई प्रतिबन्ध लगाउने गरी पहिलो पटक ‘विदेशी सम्बन्ध कानुन’ तयार गरेको छ । चीनविरुद्ध गतिविधिमा संलग्न जो कोहीलाई कारबाही गर्ने व्यवस्था गरिएको यो कानुन गत शनिबारदेखि लागू गरिएको हो ।
यो कानुनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई अझै शक्तिशाली बनाउने सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । नयाँ कानुनले चिनियाँ हितविपरीत काम गर्नेलाई कारबाही गर्ने जनाइए पनि कस्तो अवस्थामा कारबाही हुनेछ भन्ने स्पष्ट पारेको छैन । विश्लेषकहरूले यो कानुनले चीनको आक्रामक कूटनीतिलाई जनाउने बताएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार नयाँ कानुनमा चीनको सम्प्रभुता, राष्ट्रिय सुरक्षा र विकासमा असर पार्ने काम तथा संलग्नलाई प्रतिबन्ध लगाउने अधिकार छ ।
पेन्सल्भेनिया विश्वविद्यालयमा पोलिटिकल साइन्सका प्राध्यापक ज्याक्स डिलिस्ले नयाँ चिनियाँ कानुन अमेरिकाविरुद्ध बलियो प्रतिक्रिया भएको बताउँछन् । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले पनि पश्चिमा देशहरूको आधिपत्यविरुद्ध यो वैध माध्यम हुने जनाएको छ ।
चीनले ल्याएको प्रतिजासुसीसम्बन्धी कानुनको विरुद्ध पनि अहिले अमेरिका प्रतिवादमा उत्रिएको छ । शुक्रबार उक्त कानुनको विरोध गर्दै अमेरिकाले विदेशी कम्पनीलाई चीनमा अप्ठ्यारो पर्ने उल्लेख गरेको छ । यो कानुनका कारण अमेरिकी तथा अन्य विदेशी कम्पनीहरूले जरिवाना भोग्नुपर्ने अमेरिकाको आरोप छ । चीनले यो वर्ष पारित गरेको कानुनले सुरक्षा र जासुसीसम्बन्धी कुनै पनि सूचना हस्तान्तरणमा प्रतिबन्ध लगाएको छ ।