Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चुनाव प्रचारका लागि एआई प्रयोग भए प्रष्ट पार्नुपर्ने व्यवस्था गर्दै गुगल


चुनाव प्रचारका लागि एआई प्रयोग भए प्रष्ट पार्नुपर्ने व्यवस्था गर्दै गुगल

काठमाडौं । गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले चुनावको प्रचार प्रसार गर्ने सामग्री उत्पादनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग भएको भए स्पष्ट खुलाउनुपर्ने व्यवस्थाको घोषणा गरेको छ ।

कम्पनीले बुधबार एक ब्लगपोस्टमार्फत आगामी नोभेम्बरबाट गुगलका कुनै पनि प्लाटफर्ममा चुनावको प्रचार र विज्ञापनमा प्रयोग हुने तस्बिर, संगीत, भिडियो लगायतमा एआईको प्रयोग भएको थाहा दिनुपर्ने व्यवस्था सार्वजनिक गरेको हो ।

विज्ञापनमा दाबी गरिएभन्दा फरक प्रकृतिको सामग्रीलाई एआईको प्रयोगले परिवर्तन गरिएको भए स्पष्ट भाषामा खुलाउनुपर्ने गुगलको नयाँ व्यवस्था हुनेछ । एआईको प्रयोगले तस्बिर, संगीत, स्वर, भिडियो सजिलै उत्पादन हुने र राजनीतिक प्रयोजनका लागि समेत डिपफेकजस्ता प्रविधिको प्रयोग बढ्दै गएको सन्दर्भमा गुगलले राजनीतिक विज्ञापनहरूमाथि कडाइ गर्न लागेको हो ।

गुगलको साइबर सुरक्षासम्बन्धी निकाय मेन्डिएन्टले पछिल्ला वर्षहरूमा गुमराह फैलाउने किसिमका अभियानहरूको संख्या बढेको र त्यसमा एआईको प्रयोग बाक्लिँदै गएको तथ्य सार्वजनिक गरेको थियो ।

मेन्डिएन्टले जेनेरेटिभ एआईको उपलब्धताको कारण सीमित स्रोत भएका व्यक्ति वा समूहले पनि प्राविधिक रूपमा उच्च गुणस्तरका र ठूलो संख्यामा प्रचार सामाग्रीहरू उत्पादन र वितरण गर्न सक्षम बनाइदिएको आँकडा अघि सारेको थियो ।

गुगल लगायतका सशुल्क विज्ञापन गर्न दिने ठूला प्रविधि कम्पनीहरू आफ्नो सञ्जालमार्फत फैलिने मिथ्या र भ्रामक सूचनाका कारण आलोचना र प्रश्नको निशानामा पर्दै आएका छन् । आगामी वर्षको नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावको प्रचार प्रसारमा एआईको प्रयोग हुने संभावनालाई ध्यानमा राख्दै गुगललगायत कम्पनीहरूले विभिन्न अपडेट र नयाँ नीतिहरू सार्वजनिक गर्न सुरू गरेका हुन् ।