एजेन्सी । दक्षिणी युरोप, एसिया र उत्तरी अमेरिकाका देशहरू केही दिनयता बढ्दो तापक्रमका कारण प्रभावित भएका छन् । अत्यधिक गर्मी तथा लुका कारण करोडौं व्यक्ति मारमा परेका छन् भने केही देशका जंगलमा डढेलो फैलिएको छ ।
युरोपियन स्पेस एजेन्सी (ईएसए) का अनुसार यस साता इटालीका सिसिली र सार्डिनिया जस्ता आइल्यान्डहरूको तापक्रम ४८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ, जुन युरोपमै सबैभन्दा धेरै तापमान रूपमा कायम हुनेछ । अत्यधिक गर्मीको अवस्था आगामी १० दिनसम्म रहने चेतावनी दिइएको छ । युरोपमा इटाली, ग्रिस, स्पेनजस्ता देश अत्यधिक गर्मीको चपेटामा परेका छन् । स्पेनको दक्षिणी क्षेत्रमा गत सोमबार ४४ डिग्रीसम्म तापमान पुगेको थियो ।
युरोपका धेरै देशका जंगलमा लागेको डढेलोका कारण नजिकका बस्तीहरूमा पनि आगलागी हुँदा घरहरू नष्ट भएका छन् भने स्थानीय विस्थापित हुन बाध्य भएको बीबीसीले जनाएको छ । स्विट्जरल्यान्डका जंगलमा फैलिएको डढेलो निभाउन सयौं अग्नि नियन्त्रकहरू तैनाथ गरिएको छ । ग्रीसको एथेन्सलगायत क्षेत्रका जंगलमा पनि डढेलो फैलिएको छ । स्पेनको ला पाल्मामा पनि डढेलोले वनक्षेत्र नष्ट भएका छन् । अधिकांश डढेलो अत्यधिक गर्मीकै कारण लागेको अनुमान गरिएको छ ।
युरोपमा मात्र नभई उत्तरी अमेरिकाका क्यानडा र अमेरिकाजस्ता देशमा पनि केही दिनयता अत्यधिक गर्मीको मारमा करोडौं व्यक्ति परेका छन् । गत सोमबार क्यालिफोर्नियाको तापमान ४९ डिग्रीसम्म पुगेको छ । अमेरिकाका पश्चिमी र दक्षिणी क्षेत्रमा अत्यधिक गर्मी महसुस गरिएको छ । गर्मीको मारमा पर्ने विशेष गरी ८ करोड स्थानीयलाई सुरक्षित स्थानमा आश्रय लिन अमेरिकी सरकारले आग्रह गरेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार क्यालिफोर्नियाको जंगलमा डढेलो फैलिएको छ, जसले ८ हजार एकड क्षेत्र प्रभावित भएको छ । गत सोमबारसम्म करिब ३५ प्रतिशतसम्म मात्र डढेलो नियन्त्रणमा आएको छ ।
समाचार संस्था एएफपीका अनुसार क्यानडा ९ सय क्षेत्रमा डढेलो लागेको छ, जसमध्ये करिब ६ सय स्थानको आगलागी नियन्त्रणबाहिर छ । डढेलोको धूवाँले उत्तर–पूर्वी अमेरिकामा वायु प्रदूषण बढेको छ । केही साताअघि क्यानडामा लागेको डढेलोका कारण क्यानडाका मुख्य सहरसहित अमेरिकाका केही क्षेत्रमा वायु प्रदूषण बढ्दा जनजीवन कष्टपूर्ण बनेको थियो । त्यही अवस्था फेरि दोहोरिन थालेको छ ।