काठमाडौं । नेपाल श्रीलंका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बैठक चलिरहेको छ । परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाली समकक्षी अली साब्रीको सहअध्यक्षतामा भइरहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार उक्त बैठकमा काठमाडौं–कोलम्बो सिधा हवाई सेवा बढाउने, क्षेत्रीय सहकार्य, संस्कृति, पर्यटनलगायत विषयहरूमा छलफल हुनेछ । आयोगको बैठक जारी हुनुअघि दुवै परराष्ट्रमन्त्रीहरूबीच ‘वान टु वान’ भेटवार्ता भएको थियो ।
बैठकमा कोलम्बो लुम्बिनी सिधा हवाई सेवा बारेमा छलफल गर्ने पनि उल्लेख छ । बैठक अहिले जारी छ । साथै, नेपालले श्रीलंकामा थुनामा रहेका तीन नेपालीहरूलाई छुटाउनका लागि पनि कुरा राख्नेछ ।
दुवै मुलुकले जलवायु परिवर्तनको क्षेत्रमा आफ्ना अनुभव आदान–प्रदान गर्नेछन् । परराष्ट्र मन्त्रालयको अनुसार बिहीबारै दुई मुलुकबीच विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने उल्लेख छ ।