मुगु । मुगु जिल्ला सदरमुकाम गमगढीमा शुक्रबार राति भीषण आगलागी हुँदा ८ घर जलेर ध्वस्त भएका छन् । गमगढीको कालिका मालिका मन्दिर भन्दा पछाडि रहेको बजारमा राति साढे १ बजेतिर आगलागी हुँदा प्रदीप रावल, पुतली शाही, जंग ऐडी, शान्त्वना खत्री, पञ्च सेजुवालको घर र पदमराज मल्ल टिनको टहरासहित ८ जनाको घर जलेर पूर्णरुपमा ध्वस्त भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । उक्त आगलागीबाट मानवीय क्षति नभएको तर धनमाल सखाप भएको उनको भनाइ छ ।
आगो कसरी लाग्यो भन्ने कुनै तथ्य फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । साढे १ बजे सुरु भएको आगलागी राति ४ बजे नियन्त्रण आएको प्रहरीले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, रेडक्रसकर्मी स्थानीयबासी खटिएर आगलागी नियन्त्रणमा लिएका हुन् ।
गमगढी बजारको खानेपानीको पाइप लाइनको पानीले धौधौ गरी चार घन्टापछि आगो नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए । क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए । गत असोजमा गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घर जलेर ध्वस्त भएका थिए । गमगढीमा अहिले सम्म ७ पटक आगलागी भइसकेको छ ।