Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

नेपालबाट चोरिएका बुद्ध र गणेशको मूर्ति न्युयोर्कको सदबीज लिलाम गृहमा


नेपालबाट चोरिएका बुद्ध र गणेशको मूर्ति न्युयोर्कको सदबीज लिलाम गृहमा

काठमाडौँ । ललितपुर तथा काठमाडौंका दुई फरक धार्मिक आस्थाका केन्द्रबाट चोरिएका पुरातात्त्विक बुद्ध रत्नसम्भव र गणेशका प्रस्तर मूर्ति कलासम्पदा खरिदबिक्रीको अन्तर्राष्ट्रिय केन्द्र सदबीजको न्युयोर्क लिलाम गृहमा पाइएको छ ।

चोरिएका/हराएका सम्पदाको पहिचान तथा घरफिर्तीमा जोडिएको अभियान ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, झन्डै ५० वर्षअघि पाटनको गुइट टोलस्थि गुस्ताला महाविहार क्षेत्रबाट चोरिएको बुद्ध रत्नसम्भव सन् १९९३ डिसेम्बर १ मा सदबीज न्युयोर्कमा बिक्री गरेको पाइएको छ । सन् १९७० को हन्टिङटन अर्काइभमा यो सम्पदाको मूल तस्बिर रहेको र यसबारे कला अन्वेषक उल्रिच भन स्कोडरले उनको ‘नेप्लिज स्टोन स्कल्पचर्स’ मा समेत उल्लेख गरेका छन् । यो बाह्रौं शताब्दीको सम्पदा चोरिएकोबारे स्थानीयबासी जानकार रहे पनि यसको स्थिति केही थाहा थिएन ।

 यसैगरी, सदबीजको न्युयोर्क केन्द्रमै सन् १९५० को दशकमा हनुमानढोका क्षेत्रबाट चोरिएको गणेशको प्रस्तर मूर्ति समेत पाइएको छ । लस्ट आर्टस् अफ नेपालका अनुसार, उक्त सम्पदा सन् २००९ मार्च १८ मै सदबीजमा बिक्री भएको पाइएको छ ।

सन् ५० को दशकमा किटविज्ञानका बारे अध्यन गर्न नेपाल आएका अफ्रिकी–अमेरिकी अन्वेषक जर्ज ट्यालीको पुस्तकमा यो सम्पदाको मूल तस्बिर संग्रहित छ । पश्चिमा संसारका लागि नेपाल खुला गरिएपछि काठमाडौं उपत्यकाबाट पहिलो लटमा चोरी भएको सम्पदामध्ये एकका रुपमा यो गणेश मूर्तिलाई लिने गरिएको छ ।

चौबिसै घन्टा प्रहरी र सेनाको निगरानीमा रहने हनुमानढोकाको मोहनकाली चोक हिटी क्षेत्रबाट यो सम्पदा चोरिएको थियो । यही क्षेत्रमा रहने तलेजु भवानीको हार पनि अमेरिकाको सिकागो म्युजियममा पाइएको तथ्य छ । तर, यसमा उत्पत्तिको पहिचान र प्रमाणीकरण भएर पनि घरफिर्ता हुन सकेको छैन ।