काठमाडौं । बुधबार पनि सेयर बजारका सबै सूचक बढेका छन् । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २९ अंक बढेर २०४५ अंकमा कायम भएको छ । नेप्सेका अलवा १३ वटै उपसमूहका सूचक बढेका छन् । कुल १ अर्ब ५१ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ ।
कुल २०४ कम्पनीको मूल्य बढ्दा २० को घट्यो भने ३ को स्थिर रह्यो । हिजो १ अर्ब ३३ करोडको कारोबार भएको थियो । उपसमूहमा प्रतिशतका आधारमा जलविद्युत् उपसमूह सबैभन्दा धेरै २.७४ प्रतिशत बढ्यो । बैंकिङ ९, विकास बैंक ४३, फाइनान्स ३३, होटल तथा पर्यटन ६८, जलविद्युत् ५७, जीवन बीमा २७६, उत्पादन ४२, माइक्रोफाइनान्स ६१, निर्जीवन बीमा २३२, अन्य १३ र व्यापार उपसमूह ५५ अंक बढे ।
कुथेली बुकरी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । लिबर्टी इनर्जीको साढे ९ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा घोराही सिमेन्ट, सोल्टी होटल, आईएमई लाइफ इन्स्योरेन्स, एसियन लाइफ र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।