काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालका कारण सामाजिक मर्यादामा आच आउन थालेको भन्दै सरकारले यसको निगरानीलाई अघि बढाएको छ । सरकारले सामाजिक सञ्जाल प्लेटफर्म संचालकलाई नेपालमा कार्यालय राख्न बाध्य पार्ने निर्देशिका ल्याएको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक संजाल संचालनसम्बन्धी निर्देशिका २०८० लाई स्वीकृति दिएको हो । जसमा सामाजिक सञ्जाल फेसबुक, एक्स, टिकटक, युट्युबलगायतले नेपालमा सम्पर्क कार्यालय राख्नुपर्ने व्यवस्था गरिएको छ । सामाजिक सञ्जाल प्रयोगका क्रममा आएका गुनासोको तत्काल सम्बोधन नभएको र कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताका सामग्री हटाउनुपर्दा अप्ठ्यारो भइरहेको अवस्थामा सरकारले नेपालमा नै सम्पर्क कार्यालय राख्नुपर्ने व्यवस्था गरेको छ ।
निर्देशिका जारी भएको तीन महिनाभित्र संचालनमा रहेका सामाजिक संजाल सूचीकृत हुनुपर्ने पनि निर्देशिकामा व्यवस्था गरिएको छ । निर्देशिका जारी भएको ३ महिनाभित्र नेपालमा कार्यालय नभएका प्लेटफर्म संचालकले नेपालभित्र सम्पर्क बिन्दुको व्यवस्था गर्नुपर्ने । सामाजिक सञ्जालको प्रयोगका क्रममा आएका गुनासाको सम्बोधनको यथोचित व्यवस्था गर्ने, निर्देशिकामा व्यवस्था गरिएको छ, राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, सामाजिक सद्भावविरुद्ध हुने सामग्री प्रकाशन वा प्रसारणमा रोक लगाउनुपर्ने ।
पछिल्लो समय सामाजिक सञ्जालबाट विकृति बढ्दै गएको भन्दै आलोचना भइरहेको थियो । सरकारी संयन्त्र र राजनीतिक दल तथा सार्वजनिक क्षेत्रबाट सामाजिक सञ्जालले विकृति बढाएको र सामाजिक सद्भाव खल्बल्याउने गतिविधि सामाजिक संजालबाट बढिरहेको भन्दै नियमन र नियन्त्रणको विधि माग भइरहेको बेला सरकारले निर्देशिका ल्याएको हो ।