काठमाडौं । काठमाडौंको सामाखुसीमा रहेको सत्कार बचत तथा ऋण सहकारी संस्थाले नक्कली फाइल खडा गरी ८ करोड ४६ लाख १४ हजार ९ सय ७० रुपैयाँ १६ पैसा कर्जा प्रवाह गरेको तथ्य भेटिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानबाट ८ जनाको नाममा नक्कली फाइल खडा गरी रकम हिनामिना गरेको खुलेको हो ।
विज्ञान हुमागाईंको नाममा १ करोड ६८ लाख ६८ हजार ८१९ रुपैयाँ, चन्द्र शेखर गिरीको नाममा ७२ लाख ३० हजार रुपैयाँ, डिल्लीप्रसाद उप्रेतीको नाममा १ करोड ७५ लाख ४९ हजार ८ सय रुपैयाँ, दिनेश स्वारको नाममा ७२ लाख ७६ हजार १ सय ३८ रुपैयाँ नक्कली कर्जा फाइल खडा गरिएको खुलेको छ ।
त्यस्तै त्यसैगरी हेमराज श्रेष्ठको नाममा १५ लाख ७५ हजार, कबिराज गिरीको नाममा १ करोड १८ लाख ७५ हजार रुपैयाँ, नवराज सुवेदीको नाममा १ करोड ५२ लाख १८ हजार ८ सय ७५ रुपैयाँ १६ पैसा र सुशिला कोइरालाको नाममा ७० लाख २१ हजार ३ सय ३८ रुपैयाँ गरी कुल ८ करोड ४६ लाख १४ हजार ९ सय ७० रुपैयाँ १६ पैसा कर्जा प्रवाह भएको खुलेको हो ।
संस्थाका अध्यक्षसहित ९ जना फरार छन्, तीन जना पक्राउ परेका छन् । संस्थाका सचिव गोविन्द पुरी, कोषाध्यक्ष महेश श्रेष्ठ र कर्मचारी ध्रुवराज कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ । फरार हुनेमा संस्थाका अध्यक्ष सविन उप्रेती, उपाध्यक्ष देवकी कार्की, सदस्य हरिकृष्ण श्रेष्ठ, सदस्य सुष्मा श्रेष्ठ, सदस्य बिष्णु कुमार गिरी, लेखा समिति संयोजक राम सिंह साउद, लेखा समिति सदस्य लोकेन्द्र थापा, लेखा समिति सदस्य कमल श्रेष्ठ र व्यवस्थापक सूर्य श्रेष्ठ छन् ।उनीहरूविरुद्ध सहकारी ऐन २०७४ को दफा १२२ को कसुरमा मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर भएको छ ।