काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) को अध्यक्षमा उपेन्द्र पौड्याल चुनिएका छन् । बुधबार बसेको परिसंघको १५ औं बैठकले पौड्याललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । निवर्तमान अध्यक्ष पवन गोल्यानको राजीनामासँगै रिक्त हुन आएको उक्त पदमा पौड्याललाई चयन गरिएको हो ।
पौड्याल नबिल बैंकका अध्यक्ष हुन् । एनएमबी बैंकको संचालकबाट अलग हुन थालेको भन्दै निवर्तमान अध्यक्ष गोल्यानले सीबीफीन अध्यक्ष पदबाट पनि राजीनामा दिएका थिए । संस्थाको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन् ।
बुधबार बसेको सीबीफीन सञ्चालक समितिको बैठकले गोल्यानको राजीनामा स्वीकृत गरेको हो । निवर्तमान अध्यक्ष गोल्यानकै विशेष अगुवाइमा वि।सं। २०७६ मा सीबीफिन स्थापना भएको हो । गोल्यान यो संस्थाका संस्थापक अध्यक्ष हुन् । नयाँ अध्यक्ष पौड्याल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन् ।
सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौड्यालले एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरेका थिए । एनएमबी बैंकबाट बाहिरिएसँगै उनी नबिल बैंकको सञ्चालक बनेका थिए । बैंकिङसहित राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका विविध क्षेत्रमा उनले हासिल गरेको लामो अनुभव, बृहत्तर ज्ञान, अनुभव तथा दुरदर्शी नेतृत्व क्षमताबाट सीबीफिनले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ ।