काठमाडौं,२ साउन । बर्ड हिटका कारण ग्राउन्डेड न्यारोबडीका दुई जहाज मध्ये एक जहाजले सोमबार उडान गर्ने भएको छ । नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा न्यारो बडी र दुई वटा वाइड बडी गरी कुल ४ जहाज रहेका छन् । तीमध्ये २ न्यारो बडी जहाज बर्ड हिटका कारण ग्राउन्डेड अवस्थामा थियो ।
निगमका अनुसार न्यारो बडी जहाज एन नाइन एकेडब्ल्यू जहाजको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएकोमा सोको मर्मत सम्भार पश्चात सोमबार बेलुकीबाट नियमित उडानमा पठाइने निगमका प्रवक्ता रमेश पौडेलले बताए । निगमको अर्को न्यारो बडी जहाज एन नाइन एकेएक्स जहाजको बायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको हुँदा ग्राउन्डेड गरिएको हो ।
निर्माता कम्पनीको सुझाव अनुसार १० साइकल उडान गर्न सकिने भएकोले इन्जिन ओभरहलको लागि जाँदा लाग्ने ४ साइकल बाँकी राखी ६ साइकल उडान भरे पश्चात ग्राउन्डेड गरिएको निगमले जनाएको छ । ४ वटा जहाजमध्ये दुई वटा जहाज ग्राउन्डेड भएकोमा सोमबारबाट ३ वटा जहाजले नियमित उडान गर्ने निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले बताए । एउटा जहाज भने इन्जिन ओभरहलको लागि ग्राउन्डेड गरिएको हुँदा अझै मर्मत गराउने प्रक्रियामा रहेको निगमले जनाएको छ ।
न्यारो बडीका दुई जहाज ग्राउन्डेड हुँदा छोटो दुरीका दिल्ली, बैंग्लोर, दुबई, साउदी अरब, बैंकक, हङकङ र मलेसियाको उडान प्रभावित भएका थिए । जहाज ग्राउन्डेड हुँदा नियमित उडानको टिकट किनिसकेकालाई समेत टिकट सार्न अनुरोध गरिएको थियो । अर्जेन्ट यात्रुलाई भने निगमकै वाइड बडीमा हुने उडानमा व्यवस्थापन गरिएको थियो भने अन्यलाई अन्य एयरलाइन्समा समेत व्यवस्थापन गरिएको निगमले जनाएको छ ।