Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

२५ वर्षपछि यती एयरले भित्र्यायो साझेदार, एसियन लाइफ इन्स्योरेन्ससँगको सम्झौता


२५ वर्षपछि यती एयरले भित्र्यायो साझेदार, एसियन लाइफ इन्स्योरेन्ससँगको सम्झौता

काठमाडौं, यती एयरले सञ्चालनमा आएको २५ वर्षपछि लगानिकर्ता भित्र्याएको छ। यतीले साझेदारको रुपमा एसियन लाइफ इन्स्योरेन्सलाई भित्र्याउने भएको हो। यती एयर र एसियन लाइफ इन्स्योरेन्सबीच केही दिनमै सम्झौता हुने भएको छ। लगानी तथा सेयरको विषयमा सहमति भइसकेको छ तर इन्स्योरेन्सले कति प्रतिशत सेयर लिने र कति लगानी गर्ने भने विषय भने गोप्य राखिएको छ। एसियन लाइफ इन्स्योरेन्सले बीमा प्राधिकरणबाट यती एयरको ४९ प्रतिशत सेयर खरिदका लागि सहमति लिइसकेको छ।

एसियन लाइफ इन्स्योरेन्सले प्रतिकित्ता प्रिमियमसहित १ सय ७० रुपैयाँमा यती एयरमा लगानी गर्ने गरी बीमा प्राधिकरणबाट सहमति लिएको हो। यती एयरको हालको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको र त्यसको ४९ प्रतिशत सेयर खरिदका लागि एसियन लाइफ इन्स्योरेन्सले प्राधिकरणबाट सहमति लिएको हो।प्राधिकरणले दिएको सहमतिअनुसार नै एसियन लाइफ इन्स्योरेन्सले ४९ प्रतिशत सेयर खरिद गर्दा १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने छ। प्रतिकित्ता एक सय रुपैयाँको सेयरमा ७० रुपैयाँ प्रिमियम समेत थप हुँदा १ अर्ब ७५ करोड रुपैयाँ लगानी एसियन लाइफ इन्स्योरेन्सले गर्ने छ।

यती एयर व्यवस्थापनले एसियन लाइफ इन्स्योरेन्सले बीमा प्राधिकरणबाट पाएको अनुमतिअनुसार ४९ प्रतिशत सेयर नै खरिद गर्छ कि त्योभन्दा कम गर्छ भन्ने विषयमा भने केही खुलाएको छैन। एसियन लाइफ इन्स्योरेन्सले अधिकतम ४० प्रतिशतसम्म सेयर खरिद गर्न सक्छ। इन्स्योरेन्सले सेयर खरिदसँगै यतीको पुरानो वित्तीय दायित्वसमेत स्वीकर गर्नेगरी सहमति भएको छ। एसियन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ।यतीले साझेदारबाट रकम आएपछि तत्काल नै ३ वटा एटीआर ७२ जहाज खरिद गर्ने योजना समेत बनाएको छ। यतीले अहिले ५ वटा एटीआर ७२ जहाजद्वारा हवाई सेवा दिँदै आएको छ।

विस्तारै १० वटा जहाज पुर्‍याउने योजना रहेको यती ग्रुपका अध्यक्ष सोना लाक्पा शेर्पाले बताउँदै आएका छन्। उनले नयाँ लगानिकर्ता भित्र्याउँदै आमनागरिकहरूका लागिसमेत सेयर जारी गरेर अगाडि बढ्ने उद्घोष गरेका छन्। यस्तोमा अबको केही दिनमा नै एसियन लाइफ इन्स्योरेन्सले यतीको सेयर खरिद बापतको रकम भुक्तानी गर्ने र दुईपक्षीय सहमति हुने भएको हो।यती एयर यात्रु संख्याको हिसाबले दोस्रो बजार हिस्सा ओगटन सफल हवाई सेवाप्रदायक कम्पनी हो।

आन्तरिक हवाई सेवाप्रदायक कम्पनी यती एयरले सन् १९९८ सेप्टेम्बर २१ बाट हवाई उडान सुरु गरेको थियो। यतीले सुरुवाती उडान नाइन एन एईभीबाट गरेको थियो। अहिले यती एयरले पाँच वटा एटीआर जहाजद्वारा आन्तरिक उडान गरिरहेको छ।यती एयरको भगनी संस्था तारा एयरले भने दुर्गममा हवाई सेवा प्रदान गरिरहेको छ। यती एयरले भने सुगम क्षेत्रमा सेवा दिँदै आएको छ। यती एयरले अहिले माउन्टेन उडानसहित पोखरा, विराटनगर, भद्रपुर, जनकपुर, भैरहवा र सिमरामा उडान गरिरहेको छ।