काठमाडौं । उपलब्ध जहाजहरूको कुशल व्यवस्थापन गर्न नसक्दा नेपाल वायुसेवा निगम नेवानिले निरन्तर घाटा व्यहोर्दै आइरहेको छ । निगमलाई ६ वर्षको अवधिमा अन्तर्राष्ट्रिय र आन्तरिक उडानबाट २० अर्बभन्दा बढी घाटा भएको छ । जहाज उडाउँदा आम्दानीभन्दा खर्च बढी भएपछि निगमले आर्थिक नोक्सानी व्यहोर्नुपरेको हो ।
पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठित ‘निगमको संरचनागत एवं व्यवस्थापकीय सुधार अध्ययन तथा सिफारिस समितिले पर्यटनमन्त्री सुदन किराँतीलाई बुझाएको प्रतिवेदनले निगमलाई सबैभन्दा ठूलो नोक्सानी वाइडबडी एयरबस–३२० उडानमा भइरहेको देखाएको छ ।
आर्थिक वर्ष ०७४-७५ देखि ०७९-८० ९वैशाख० सम्म ६ वर्षको अवधिमै निगमलाई वाइडबडीबाट मात्रै १९ अर्ब १५ करोडभन्दा बढी घाटा भएको प्रतिवेदनमा उल्लेख छ । युरोपदेखि अमेरिकासम्म सीधा उडान गरेर पर्यटक बोक्ने योजनासहित चर्को ब्याजमा खरिद गरिएको वाइडबडी लामो दूरीमा उडाउन नसक्दा निगमले निरन्तर ठूलो घाटा व्यहोर्नुपरेको हो । आजको नयाँ पत्रिकामा खबर छ।
निगमले कोरिया, अस्ट्रेलिया, युरोप, अमेरिकाजस्ता लामो दूरीका गन्तव्यमा वाइडबडी उडाउन सकेको छैन । विगत १० वर्षयता युरोपेली युनियन (इयू)ले नेपालमा दर्ता भएका जहाजलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाएको छ । सोहीकारण, अहिले लामो दूरीमा जापानको नारिता मात्र उडान भइरहेको छ । दुई सय ७४ सिटको वाइडबडी छोटो दूरीका भारत तथा खाडी देशमा मात्रै सीमित हुँदा नाफा कमाउन नसकिने विज्ञहरू बताउँछन् । गत आवको पहिलो १० महिना (साउन–वैशाख)मा वाइडबडी उडानबाट निगमलाई तीन अर्ब २८ करोडभन्दा बढी घाटा भएको देखिन्छ ।
अन्तर्राष्ट्रिय उडानतर्फ न्यारोबडी ल्याएको तीन वर्षपछि निगमले १४ असार ०७५ मा पहिलो र १० साउन ०७५ मा दोस्रो वाइडबडी ल्याएको थियो । वाइडबडी नेपाली भूमिमा अवतरण गरेको ३३ र ९९ दिनपछि मात्र नियमित उडान सुरु गरिएको थियो । यसले पनि आर्थिक भार थपिनुका साथै निगमको साखमा समेत आँच आएको अध्ययन समितिको निष्कर्ष छ ।