Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र’


‘अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र’

काठमाडौँ । रङ्ग पत्रकारिता हुँदै चलचित्र निर्देशक बन्नु भएका नवीन सुब्बा पहिलो चलचित्र ‘खाङ्ग्री’मार्फत नै चर्चामा आए । शेर्पा भाषामा तयार भएको उक्त चलचित्रमा हिमाली संस्कृति र कथा देखाइएको थियो भने यो पहिलो पटक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुग्ने निजी लगानीको चलचित्र थियो । ट्रेन्टो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवलगायतमा सहभागिता जनाउन सफल भएका निर्देशक सुब्बाको दोस्रो चलचित्र ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोलगायतका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएका थिए ।

पछिल्लो समय नेपाल मौलिक कथा भन्नेमा अगाडि रहेको निर्देशक सुब्बाले बताए । “हामीले निर्माण गरेका चलचित्र अहिले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइरहेका छन् उनले भने । उनले निर्देशन गरेको चौथो चलचित्र ‘गाउँ आएको बाटो’ जेठ २५ गते प्रदर्शन हुँदैछ । त्यसअगाडि विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँं संस्करणमा छनोट भई प्रथम प्रदर्शनी (वर्ल्ड प्रिमियर) गरिएको चलचित्र दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सव, बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलगायतमा छनोट भइसकेको छ । अन्तर्राष्ट्रिय महोत्सवमा हुने सहभागिताले नेपाली कला र संस्कृतिलाई प्रवद्र्धन गर्नुका साथै पर्यटन प्रवर्द्धमा समेत टेवा पु¥याउने उनको विश्लेषण छ ।

यद्दपि उनी चलचित्र विदेशी र स्वदेशी दुवै बजारका लागि सुहाउँदो हुनुपर्नेमा स्पष्ट छन्। विदेशी महोत्सवमा पुगेर वा स्वदेशमा व्यापारिक सफलतामात्र आर्जन गरेर चलचित्रको विकास नहुने उनको बुझाइ छ । उनको पछिल्लो चलचित्र ‘गाउँ आएको बाटो’ मा राई जातिको सामाजिक पृष्ठभूमिमा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकोडालो बनाएर जीविकोपार्जन गरिरहेको एक परिवारको कथा बुनेका छन् । त्यसमा गाउँमा मोटरबाटो भित्रिएसँगै आएको आधुनिक परिवर्तनले ल्याउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।

महोत्सवमा सहभागी भएको चलचित्र भन्नेवित्तिकै मनोरञ्जन नहुने भन्ने किसिमको भाष्य सही नभएको उनको भनाइ छ । किनकि चलचित्रको विधा र प्रस्तुतिकरणअनुसार मनोरञ्जन, समवेदना र हास्यरस हुने बताए । उनले बुवा–छोराको कथाले चलचित्र भवनमा रहेका दर्शकलाई पर्दाभित्रका कलाकारसँग जोड्ने विश्वास व्यक्त गरे । गाउँमा बाटोले विकाससँगै के–के ल्याएको छ भन्ने तथ्यलाई एउटा परिवारमार्फत देखाइएको उनको भनाई ।

‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतले अभिनय गरेका छन् । महेश राई र निर्देशक सुब्बाले लेखको चलचित्रको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङ र हेडी लीले सङ्गीत गरेका छन् ।