काठमाडौं । राजदरबार हत्याकाण्ड भएको दुई दशक बितिसकेको छ । वि.सं. २०५८ जेठ १९ गते शुक्रबारकै दिन रात्रिभोजमा भएको उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमारी श्रुति, राजकुमार निराजनलगायत अन्य सदस्यसहित १० जनाको गोली हानी हत्या भएको थियो ।
नेपाली जनताहरुले कहिल्यै बिर्सिन नसक्नेगरी घटेको उक्त ऐतिहासिक अप्रिय घटनालाई सम्झँदा अहिले पनि सबै नेपालीहरुको आङ सिरिङ् हुन्छ र मनमा अनेक प्रश्न उब्जाउँछ । यस भयानक र दुखद् घटनालाई लिएर त्यतिबेला आम नेपाली जनता मात्र होईन देश–विदेशका जनतालगायत विभिन्न राजनीतिक दल तथा पार्टीहरुको सनसनीपूर्ण चासोको विषय बनेको थियो ।
यस घटनापछि खासगरी माओवादी पार्टीका नेताहरू तरंगित बनेका थिए । माओवादी नेता डा. बाबुराम भट्टराईले त्यतिबेला यस घटनालाई ‘कोतपर्व’को संज्ञा दिएका थिए । उनले दरबार हत्याकाण्डलाई ‘प्रेमप्रसंग र ‘दुर्घटना’को प्रायोजित सिद्धान्त प्रचारमा ल्याएर त्यसभित्रको गम्भीर राजनीतिक षड्यन्त्रलाई ढाकछोप गर्ने प्रयास सत्तापक्षबाट भएको र त्यसले शंकाको सुई उनीहरूतिरै फर्किएको बताउँदै वस्तुगत यथार्थ स्विकार्न जतिसुकै गाह्रो भए पनि सत्य यही हो र कालान्तरमा यो सत्य स्थापित नगरी सुखै छैन भनी विभिन्न पत्रिका मार्फत् भनाई राखेका थिए ।
त्यस्तै, माओवादी नेता प्रचण्डले यस घटनाको विषयलाई लिएर देश गम्भीर राजनीतिक मोडमा आइपुगेको र यसबाट पुरानो राज्यसत्ता परम्परागत ढंगले चल्न नसक्ने तथा जनसमुदाय पनि पुरानै अवस्थामा रहन नसक्ने भनाई व्यक्त गरेका थिए । उनले राजनीतिक कारण र उद्देश्यबिना दरबारमा हत्याकाण्ड हुने नसक्ने कुरा जाहेर गरेका थिए । पछिल्लो समयमा पनि उनले दरबार घटनाको विषयलाई लिएर गम्भिर हुनुपर्ने र निष्पक्ष, सत्यतथ्यपूर्ण तरिकाले छानविन हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
यस घटनालाई लिएर त्यतिबेला कतिपय राजनीति विज्ञहरुले फासिष्टीकरण गर्ने अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका कुनियत र हर्कतहरू यस हत्याकाण्डका बाह्य कारण हुनसक्ने प्रतिकृया दिएका थिए ।
उक्त हत्याकाण्डपछि सरकारले छानबिन समिति बनायो । सो समितिले तत्कालीन युवराज दीपेन्द्रले गोली चलाएर बुबा वीरेन्द्रसहित परिवारको हत्या गरेपछि अन्तिममा आफैँमाथि गोली चलाएर आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गर्यो ।
तर, समितिको उक्त प्रतिवेदनलाई आम नेपाली जनताले कति पनि विश्वास गरेनन् । फलस्वरूपः धेरैका नजरमा दुई दशकसम्म पनि धेरैका नजरमा दरबार हत्याकाण्ड अझै पनि रहस्यमय नै विषय बनेको छ ।
कस्तो अवस्थामा छ अहिले राजदरबार ?
२० वर्षअघि हत्याकाण्ड भएको नारायणहिटी राजदरबार अहिले संग्रहालय बनेको छ । पछिल्लो समय अवलोकनका लागि संग्रहालय मुख्य स्थान बन्दै गएको नारायणहिटी दरबार संग्रहालयले जनाउँदै आईरहेका छन् ।
२०६५ सालबाट सञ्चालनमा आएदेखि नारायणहिटी संग्रहालय अहिलेसम्म करिब ४० लाख आन्तरिक र विदेशी पर्यटकले अवलोकन गरेका छन् । संग्रहालयमा दैनिक ५ हजारसम्मले अवलोकन गर्दै आएका तथ्याङ्क छ । संग्रहालयले घुम्ने आउने विद्यार्थीका लागि २० रुपैयाँ, नेपालीक नागरिकका लागि १ सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि २ सय ५० रुपैयाँ र तेस्रो देशका नागरिकका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको छ ।
संग्रहालय घुम्ने अधिकांशको मुख्य चासो दरबार हत्याकाण्ड नै हुने गरेको संग्रहालयका कर्मचारी बताउँछन् ।
सङग्रहालय भित्र विभिन्न बैठक कोठा, राजारानीको शयन कक्ष, राजकीय पाहुनाले प्रयोग गर्ने शयन कक्ष, भान्छा कोठा, भोजन कोठा आदि गरी ५२ कोठा छन् ।
संग्रहालयभित्र झोला, क्यामरा, खानेकुरा लैजान तथा फोटो खिच्न मनाही गरिएको छ । त्यहाँ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबारलगायतका सामाग्री राखिएको छ । श्रीपेचमा ७ सय ५० हिरा छन् भने कल्लीबाहेकका भागमा हिरामोति, माणिक, नवरत्न, सुन जडित रहेको संग्रहालयले जानकारी दिएको छ ।
राजदरबार भित्र राजपरिवारका सदस्य बसेर हेरिने सिनेमा हल पनि सर्वसाधारणका लागि खुलाइएको छ । पछिल्लो समय संग्रहालयका अन्य कोठालाई समेत बिस्तारै प्रदर्शनीमा राख्न थालिएको संग्रहालयले जानकारी दिएको छ ।
हत्याकाण्डपछि राजपरिवार शवयात्राका केही तस्विरहरुः