काठमाडौं । निर्देशक प्रदीप भट्टराईको लेखन रहेको ‘जात्रै जात्रा’ को सिक्वेल तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कनमा तिव्र भइरहेको छ । काठमाडौँमा मह स्टुडियोसँगै विभिन्न स्थानमा यसको छायाङ्कन भइरहेको छ । चलचित्रमा ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेललगायतले अभिनय गरिरहेका छन् ।
केही समयअगाडि घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते हुनु भएका अभिनेता प्रकाश घिमिरेले यसै साता छायाङ्कनमा आउने निर्देशक भट्टराईले बताए । शृङ्खलाकै निरन्तरता भएकाले दर्शकको अपेक्षा बढ्ने उनले बताए । २९ औँ दिनमा छायाङ्कन भइरहँदा तय गरिएको समयअनुसार नै काम भइरहेको उनको भनाई छ । कलाकार रवीन्द्र झाले राम्रो र रमाइलो चलचित्र बन्ने बताए । ‘मुन्ना’ मार्फत उनले यस पटक आममानिसको समस्यालाई उजागर गर्ने बताए । ।
जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिने चलचित्रमा हाँसो र रोदनको मिश्रण छ । कथा लेखनकै क्रममा ‘महाजात्रा’ को बनेको ब्रान्डका कारण भारतबाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरिसकेका छन् ।
चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय रहेको छ ।