काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको छ। बैंकले बोर्डबाट वार्षिक १० प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो।
यस अनुसार बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। ऋणपत्रको नाम ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ रहेको छ।
बोर्डले बैंकले असोज ८ गते ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको हो। ऋणपत्रको अवधि १० वर्ष रहनेछ। बैंकले निष्काशन गर्ने ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री गरिनेछ भने ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।