काठमाडौं, श्रावण २१ । अब पुलिस रिपोर्ट प्रमाणीकरण कन्सुलर सेवा विभाग धाइरहनुनपर्ने भएको छ । विभागले प्रहरीले प्रदान गरेको चारित्रिक प्रमाणपत्र अनलाइनबाटै प्रमाणीकरण गरिदिने व्यवस्था गरेको हो । विभागले आइतबारदेखि सेवा सुरु गरेको छ । आइतबार विभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अनलाइनबाटै पुलिस रिपोर्ट प्रमाणीकरण सेवाको शुभारम्भ गरेका हुन् । विभागले सो सेवालाई अनलाइनबाट प्रवाह गर्ने भएपछि अब विभागमा दैनिक लाग्ने भीड कम हुने भएको छ ।
सेवा शुभारम्भ गर्दै परराष्ट्रमन्त्री साउदले सरकारले सबै खाले प्रशासनिक सेवामा नागरिकलाई सहजता प्रदान गर्न उद्धत रहेको बताएका छन् । उनले वर्तमान सरकार बनेपछि नागरिकलाई सेवा प्रवाह गर्ने विषयमा बदलाव आएको दाबी गरे । यहाँ पनि सेवाग्राहीको भीडभाड हुने अवस्था थियो । सानो कामका लागि पनि लामो समय लाइनमा बस्नुपर्ने अवस्था थियो ।
काठमाडौं बाहिरबाट आउने सेवाग्राहीको हकमा ठूलो आर्थिक भार घटाएको छ । विभागका अनुसार प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने सेवा सुरु भएपछि अब दैनिक करिब १६ सय सेवाग्राही प्रत्यक्ष लाभान्वित हुनेछन् ।