काठमाडौं,२७ असार । मुलुकमा उत्पादित पास्ता र चाउचाउ निर्यात २६.९ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा २६.९ प्रतिशतले बढेर दुुई अर्ब ११ करोड २४ लाख ४१ हजार रुपियाँको ७२ लाख तीन हजार ४४५ केजी चाउचाउ तथा पास्ता निर्यात गरेको छ । गत वर्ष सो अवधिमा एक अर्ब ६६ करोड ४७ लाख १४ हजार रुपियाँको निर्यात भएको थियो । आव २०७८÷७९ मा एक अर्ब ८३ करोड ४१ लाख ३० हजार रुपियाँको पास्ता र चाउचाउ निर्यात भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चाउचाउ र पास्ताको माग बढ्दै गएपछि निर्यात वृद्धि भएको हो । पास्ता र चाउचाउको निर्यात बढ्दै गएपछि व्यापार घाटा कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्वदेशी पास्ता तथा चाउचाउ भारतमा निर्यात हुँदै आएको छ । तेस्रो मुलुकमा पनि नेपाली चाउचाउ तथा पास्ताको उच्च माग भएको देखिएको छ ।
११ महिनामा दुई अर्बभन्दा बढीको चाउचाउ तथा पास्ता निर्यात भएकामा भारतमा मात्रै ९६ करोड ५५ लाख रुपियाँको ५१ लाख २७ हजार केजी चाउचाउ तथा पास्ता निर्यात भएको तथ्याङ्क छ । यस्तै चीनमा ५० करोड ९० लाख ९० हजार रुपियाँको ६९ हजार केजी निर्यात भएको छ ।
नेपालबाट सबैभन्दा बढी भारतका साथै अस्ट्रेलिया र अमेरिकालगायतका विभिन्न मुलुकमा नेपाली चाउचाउ र पास्ता उच्च निर्यात हुँदै आएको छ । सो अवधिमा अमेरिकामा १८ करोड ५९ लाख रुपियाँको छ लाख २० हजार केजी पास्ता निर्यात भएको छ । त्यस्तै नेपालबाट ११ महिनाको अवधिमा ३९ लाख रुपियाँको भुटान, एक करोड ४१ लाख रुपियाँको क्यानडा, ३३ लाख रुपियाँको हङकङ, दुई करोड ९६ लाख रुपियाँको इटली चाउचाउ तथा पास्ता निर्यात भएको छ ।
आठ करोड २५ लाख रुपियाँको जापान, ४३ लाख रुपियाँको दक्षिण कोरिया, दुई करोड ७३ लाख रुपियाँको मलेसिया, १० लाख रुपियाँको माल्टा, ९९ लाख रुपियाँको कतार, ३३ लाख रुपियाँको सिङ्गापुर, एक करोड ३५ लाख रुपियाँको युएई, दुई करोड ९८ लाख रुपियाँको बेलायत र ७१ लाख रुपियाँको यमनमा चाउचाउ तथा पास्ता निर्यात भएको तथ्याङ्क छ ।