Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साताको सेयर समीक्षा : नेप्से परिसूचक ३.३१ प्रतिशतले वृद्धि


साताको सेयर समीक्षा : नेप्से परिसूचक ३.३१ प्रतिशतले वृद्धि

काठमाडौं । गत साता २०५१ मा रहेको सेयर बजारको परिसूचक नेप्से यो साता २११९ अंकमा बन्द भयो । यो साता नेप्से परिसूचक ३.३१ प्रतिशतले बढेको छ । आइतबार १४.८३ अंक घटेको बजार सोमबार १६.२९ अंक बढ्यो । मंगलबार दुई पटक सर्किट ब्रेक लागेको बजार कारोबारका क्रममा २१६२ अंकसम्म पुगेको थियो । अन्ततः ४७ अंक बढेर २१०० मा बन्द भयो । बुधबार ३.७९ र बिहीबार १५.४७ अंक बढेसँगै नेप्से २११९ अंकमा पुगेको हो ।

यो साता नेप्सेमा आएको वृद्धिमा सत्ता समीकरण हेरफेर प्रमुख कारण हो । सोमबार राति १२ बजे नेपाली कांग्रेस र एमालेबीच सत्ता बाँडफाँडमा सहमति भएपछि मंगलबार बजारमा दुई पटक सर्किट ब्रेक लाग्न पुगेको हो । तर मंगलबार दिउँसाे प्रधानमन्त्री प्रचण्डले आफूले राजीनामा नदिइ विश्वासको मत नै लिने बताएपछि बजार सम्हालिन पुग्यो।

दुई ठूला दल मिलेर बन्ने सरकार स्थायित्व हुने तथा निजी क्षेत्रमैत्री हुने लगानीकर्ताको विश्वासले बजारलाई सकारात्मक प्रभाव पारेको लगानीकर्ताको बुझाइ छ । जसले गर्दा मंगलबारदेखिको कारोबार रकम पनि उच्च   छ । आइतबार ३ अर्ब ६० करोड, सोमबार २ अर्ब ९९ करोड, मंगलबार ४ अर्ब ५७ करोड, बुधबार ५ अर्ब ८ करोड र बिहीबार ६ अर्ब ४८ करोडको कारोबार भयो ।

यो साता धेरै कारोबार हुने कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, महालक्ष्मी विकास बैंक, सांग्रिला विकास बैंक, मञ्जुश्री फाइनान्स, साइन रेसुङ्गा विकास बैंक, आईसीएफसी फाइनान्स क्रमशः अगाडि रहे ।

व्यापार र विकास बैंकमा उत्साह बढेको छ । यो साता व्यापार समूह सबैभन्दा धेरै ९.८० प्रतिशत बढ्यो । यो समूह यति धेरै बढ्नुको एउटै कारण हो – साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य उच्च दरमा बढ्नु । व्यापार समूहभित्र जम्मा दुई कम्पनी मात्रै सूचीकृत छन् – विशाल बजार र साल्ट ट्रेडिङ ।

पूँजीकरणका आधारमा विशाल बजारको तुलनामा साल्ट ट्रेडिङ कर्पोरेशन धेरै नै शक्तिशाली रहेकाले यो कम्पनीले मूल्यले समग्र समूहलाई प्रभाव पार्दछ । साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य यो साता १०.७ प्रतिशत बढेको छ । विशाल बजारको मूल्य पनि सामान्य बढ्दा समग्र समूहमा उत्साह देखियो ।

साल्ट ट्रेडिङको मूल्य बढ्नुमा भने नुनको मूल्य बढाइनु प्रमुख कारण हो । नुनको मूल्य बढ्दा कम्पनीको नाफा पनि बढ्ने अनुमानका बीच लगानीकर्ताले यसको खरिद बढाए, जसले गर्दा मूल्यमा वृद्धि भयो । हाल साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य ५०२६ रुपैयाँ छ ।

त्यस्तै विकास बैंकमा पनि यो साता उत्साह देखिएको छ । सो समूहको सूचक ८.८८ प्रतिशत बढ्यो । विगतमा माइक्रोफाइनान्स तथा फाइनान्स समूहका सूचक एक स्तरमा बढिसकेका छन्, जसले गर्दा ती क्षेत्रबाट नाफा बुक गर्दै अर्को क्षेत्रमा लगानीकर्ता तथा कारोबारी सक्रिय रहन थालेका छन् । त्यही क्रममा यो साता विकास बैंक समूह रोजाइमा परेको देखिन्छ । तर विकास बैंक फाइनान्स र माइक्रोफाइनान्स तुलनामा ‘हाइक्याप’ कम्पनी हुन् । जसले गर्दा विकास बैंक समूहको वृद्धि फाइनान्स वा माइक्रोफाइनान्सको गतिमै नबढ्न सक्छ ।