काठमाडौं । नेपालको साढे ५ प्रतिशत विद्यालयमा उपलब्ध खानेपानीमा दिसाजन्य प्रदूषण (फिकल कन्टामिनेसन) देखिएको पाइएको छ । खानेपानी सरसफाइ तथा स्वच्छता (वास) को राष्ट्रिय सम्मेलनको पहिलो दिन मगंलबार खानेपानी मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर प्रभात श्रेष्ठले प्रस्तुत गरेको तथ्यांकले यस्तो देखाएको हो । ५.७ प्रतिशत विद्यालयको खानेपानीमा ’आर्सेनिक कन्टामिनेसन’ देखिएको उनको भनाइ छ । विद्यार्थीको स्वास्थ्य र सुरक्षा चिन्ताको विषय रहेकाले यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको उनले बताए ।
मुलुकभरका ९७.८ प्रतिशत विद्यालयमा खानेपानी पहुँच मात्र रहेको र ७४.९ प्रतिशत विद्यालयमा पर्याप्त खानेपानी रहेको श्रेष्ठले जनाए । कार्यक्रममा देखाइएको डकुमेन्ट्रीअनुसार मुलुकमा आधारभूत खानेपानीको पहुँचमा ९४ र आधारभूत सरसफाइको पहुँचमा ९५ प्रतिशत जनता रहेको खानेपानी मन्त्रालयले जनाएको छ । यो तथ्यांक ०७० सालमा क्रमशः ८५ र ७० प्रतिशत थियो । सरकारले ०७६ मै नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिसकेको छ ।
यद्यपि राष्ट्रिय जनगणना ०७८ अनुसार अझै पनि ४.५ प्रतिशत घरपरिवार शौचालयविहीन छन् । यसकारण पनि खुला दिसामुक्त नेपाल घोषणालाई निरन्तरता दिन चुनौती रहेको मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठले जनाए । कार्यक्रममा कार्यवाहक खानेपानीमन्त्री एवं श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पु¥याउनुपर्ने राज्यको दायित्व भएको बताए । सरकारले बनाउने योजना जनसंख्याका आधारमा हुनुपर्ने उनको भनाइ छ ।