काठमाडौं, ७ असार । उदयपुर जिल्लाको त्रियुगा नगपालिका– ५ जलजलेमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । कोइलालगायतका कच्चा पदार्थको अभाव, व्यवस्थापन र मजदुरबीचको विवादले कर्मचारीको आन्दोलनका कारण बन्द भएको सो सिमेन्ट उद्योग दुई महिनापछि बुधबार पुनःसञ्चालनमा आएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार बस्नेतले बताए।
बुधबार बिहान ७ बजेदेखि उद्योग सञ्चालनमा आएको र अब नियमित उत्पादन र बजारीकरण जारी रहने अध्यक्ष बस्नेतको भनाइ छ । दुई महिनासम्म उद्योग बन्द हुँदा २० करोडभन्दा बढी घाटा व्यहोर्नु परेको पनि अध्यक्ष बस्नेतले बताए । आर्थिक भारले डुबेपछि सरकारी स्वामित्वको उदयपुर सिमेन्टका महानिर्देशक गोपीकृष्ण न्यौपानेले यसअघि नै राजीनामा दिएका छन् । उद्योग घाटामा भएर कर्मचारी र कोइला सप्लायर्सलाई दिन पर्ने दायित्व मात्रै ८० करोड रुपैयाँ बाँकी छ ।