काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि सीमावर्ती क्षेत्रमा प्याज तस्करी मौलाएको छ । भारतको बिहार र बंगाल दुवै राज्यबाट तस्करी भएर प्याज नेपाल आइरहेको प्रहरीले जनाएको छ । भारतीय र नेपाली तस्करको समूहले ठूलो मात्रामा प्याज भित्र्याइरहेको हो ।
सीमा क्षेत्रका अधिकांश सर्वसाधारण भारतबाट आयातित प्याजको भरमा छन् । गत ७ डिसेम्बरदेखि आगामी ३१ मार्चसम्म भारतले प्याजको निकासी प्रतिबन्ध लगाएको थियो ।
आसन्न लोकसभा चुनाव अघि मुद्रास्फीति नियन्त्रणका लागि भारतीय केन्द्र सरकारले यो कदम चालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । वैदेशिक व्यापार महानिर्देशनालयले हालै एक सूचना जारी गरी प्याजको निकासी नीतिलाई ‘निःशुल्क’ बाट ‘निषेधित’मा रुपान्तरण गरिएको जनाएको छ ।