काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेकी लीला पछाईको बैंक खाताको विवरण प्रहरीले सङ्कलन गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानको क्रममा प्रहरीले उनको बैंक खाताको विवरण सङ्कलन गरेको हो ।
गुल्मीको मुसिकोट नगरपालिका–४ घर भएर ललितपुर बस्ने पछाईले २६ करोडको बैंकिङ कारोबार गरेको भेटिएको छ । विभिन्न बैंकमा उनले २६ करोडको कारोबार गरेको भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कास्की ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग निकट मानिने पछाईले दुईवटा हाउजिङमा ३ करोड लगानी गरेको भेटिएको छ । पछाईले पोखराको लेखनाथ र भक्तपुरमा हाउजिङमा लगानी गरेकी हुन् । उनी सूर्यदर्शन सहकारीमा रिसेप्सनिस्टको जागिर खान्थिन् । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्, ‘बैंकमा रकम छैन तर, क्रिप्टोको खातामा केही रकम मौज्दात रहेको भेटिएको छ ।’
३२ वर्षीया पछाई असोज १५ मा ललितपुरको खुमलटारबाट पक्राउ परेकी थिइन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।