झापा । नेपालको पहाडी तथा हिमाली जिल्लामा पाइने विभिन्न १४ थरीका जडीबुटी भारतमा निकासी हुने गरेको छ ।
प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार पूर्वी नाका भएर पछिल्लो एक वर्षमा रु चार करोड ३० लाख छ हजार मूल्य बराबरको दुई सय ९० मेट्रिक टन जडीबुटी भारत निकासी भएको हो ।
जडीबुटीको निकासीका कारण स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा स्थान पाएको छ भने भारतसँगको व्यापार घाटापूर्तिमा योगदान पुगेको छ । पूर्वी नाकाबाट भारततर्फ निकासी हुने मालसामानमा जडीबुटी मुख्य वस्तु हो । यसबाहेक भेनियर काठ, मसाला बाली, औद्योगिक बालीलगायतका वस्तु निर्यात हुँदै आएको छ ।
कार्यालयका सूचना अधिकारीका अनुसार आर्थिक वर्ष २०७९–०८० मा काँकडभिट्टा नाका भएर निर्यात भएको सबैभन्दा बढी मूल्यको जडीबुटी चिराइतो हो । त्यसपछि क्रमशः मजिठो र पदमचाल धेरै निर्यात भएको छ ।
विगत एक वर्षमा रु दुई करोड ५४ लाख ४० हजार मूल्य बराबरको एक सय २७ मेट्रिक टन चिराइतो, रु एक करोड १३ लाख २३ हजार दुई सय मूल्य बराबरको ६७ मेट्रिक टन मजिठो र रु १३ लाख ६५ हजार तीन सय मूल्य बराबरको १२ मेट्रिक टन पदमचाल भारत निर्यात भएको सूचना कार्यालयले जनाएको छ ।
त्यस्तै, पूर्वीनाका काँकडभिट्टाबाट आव २०७९–०८० मा रु १५ लाख २१ हजार मूल्यको १३ मेट्रिक टन अमला, रु ११ लाख २२ हजार मूल्य बराबरको २८ मेट्रिक टन चुत्रोको बोक्रा, रु एक लाख ६६ हजार मूल्य बराबरको एक हजार एक सय मेट्रिक टन कुरिलो, रु आठ लाख ८५ हजार मूल्य बराबरको २५ मेट्रिक टन धुलो धुप, रु ४० हजार मूल्य बराबरको नागबेली, रु ११ हजार मूल्य बराबरको सिस्नोको जरा, रु नौ लाख २४ हजार मूल्य बराबरको १४ मेट्रिक टन रिठ्ठा र रु एक लाख ९५ हजार मूल्य बराबरको एक हजार पाँच सय मेट्रिक टन जटामसी भारत निर्यात भएको छ ।