हेटौँडा । वागमती प्रदेश सरकार, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेश सरकार मातहतका ७ वटा अस्पताललाई शवबाहन हस्तान्तरण गरेको छ ।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले आइतबार एक कार्यक्रमको आयोजना गरेर शवबाहन हस्तान्तरण गरेको हो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले शवबाहन हस्तान्तरण गर्नुभएको हो ।
केन्द्रले शवबाहन टेण्डरमार्फत खरिद गरेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका लेखा अधिकृत राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार शवबाहन भन्सार छुटमा खरिद गरिएको हो । मन्त्रालयबाट स्वीकृत कार्यक्रमअनुसार आर्थिक वर्ष २०७९/०८० मै खरिद गरिएको शवबाहन प्रादेशिक अस्पतालहरुलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्का, वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक प्रसाद तिवारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कामु निर्देशक बसन्त अधिकारी र वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिस विष्टको पनि उपस्थिति रहेको थियो ।